६ मंसिर, वीरगञ्ज । वीरगञ्जमा जारी पाँचौं कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा आज समूह डि अन्तर्गतको अन्तिम खेल भएको छ । आज ओम्नी ग्रुप र गरिमा बैंकबीच प्रतिस्पर्धा भएको हो ।
वीरगञ्जको आदर्शनगर रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ्ग गरेको ओम्नी ग्रुपले निर्धारित ६ ओभरको खेलमा ७३ रनको योगफल तयार पारेको थियो । ७४ रनको लक्ष्य सहित जवाफी व्याटिङ गरेको गरिमा बैंक ३६ रनमा सिमित भयो ।
आजको खेल ओम्नी ग्रुपले ३७ रनको फराकिलो रनअन्तरले आफ्नो पक्षमा पारेको लायन्स क्लब अफ वीरगञ्ज परिवारका उपाध्यक्ष नरोत्तम पाण्डेले जानकारी दिए । खेलको मैन अफ दी म्याच ओम्नीका रिकेश यादव भए । उनले २८ रन बनाए ।
समूह डीको खेल सकिएपछि समूह सीको खेल भोलिदेखि शुरु हुनेछ । वीगन्जमा रहेका बाणिज्य बैंक, विकास बैंक, वीमा कम्पनी र औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिमको सहभागिता रहेको वीरगन्ज स्पोर्ट्स एकेडेमीका संयोजक बैकुण्ठ श्रीवास्तवले जानकारी दिए ।