१६ मंसिर,काठमाडौँ । युएईमा जारी यू–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बांङ्लादेशसँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको बांङ्लादेशले २८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । बांङ्लादेशका जबार अबारले ५९ रन र मोहम्मद हाकिमले ५२ रन बनाए । बलिङमा नेपालका युवराज खत्रीले ४ र कप्तान हेमन्त धामीले एक विकेट लिए ।
त्यसअघि युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।
नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३, अभिषेश तिवारी र उत्तम मगरले २९–२९ रन बनाएका थिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिए ।
बलिङमा बांङ्लादेशका रिजन हसन, इकबाल हुसेन इमन र अल फहादले दुई–दुई विकेट लिएका थिए । लगातार दोस्रो हारसँगै नेपाल एसिया कपको सेमिफाइनल दौडबाट बाहिरिएको छ । अब नेपालले अन्तिम खेल अफगानिस्तानसँग मंगलबार खेल्नेछ ।