५ पुष,काठमाण्डौ । नेपाललाई हराउँदै बङ्गलादेश १९ वर्षमुनिको एशिया कप क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको ’सुपर–फोर’ को खेलमा बङ्गलादेशले नेपाललाई ९ विकेटले हरायो ।
नेपालले दिएको ५५ रनको मध्यम लक्ष्य बङ्गलादेशले ९ ओभर ५ बलमा १ विकेट गुमाएर भेटायो । बङ्गलादेशकी फहोमिदा चोयाले नटआउट २६ रन बनाइन् । नेपालकी कुसुम गोदारले १ विकेट लिइन् ।
यसअघि मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनायो । नेपालकी सावित्री धामीले ११, कप्तान पूजा महतो ९, एलिशा यादवले ८ रन बनाए । नेपालका चार जना खेलाडी रन आउट भए । बङ्गलादेशकी फर्जना इम्सिन, अनिसा अख्तेर, फहोमिदा चोया र हबिबा इस्लामले १÷१ विकेट लिए । वर्षाले खेल प्रभावित भएपछि खेल ११ ओभरमा झारिएको थियो ।
बङ्गलादेश ’सुपर–फोर’ मा दोस्रो स्थानमा रहेर फाइलनमा पुगेको हो । अब बङ्गलादेशले उपाधिका लागि फाइनलमा भारतसँग खेल्नेछ । आज बिहान भएको ’सुपर–फोर’ को खेलमा श्रीलङ्कालाई हराउँदै भारत शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । फाइनल खेल पर्सि आइतवार हुनेछ ।