१७ पुष,वीरगञ्ज । आजदेखि शुरु भएको इस्वी संवत् २०२५ नयाँ वर्षमा आज नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरु भरीभराउ भएको छ । नेपालको मधेसका ऐतिहासिक, धार्मिक पर्यटकीय स्थलहरु भारतीय पर्यटकहरुकले खचाखच भरिएका छन् । भारतसँग सीमा जोडिएका जिल्लाहरु पर्साको ठोरी, बाराको सिम्रौनगढ, निजगढ, रौतहटको नुनथर लगायतका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक तथा भारतीय पर्यटकहरुले खचाखच भरिएका हुन् ।
नयाँ बर्ष मनाउका लागि भारतबाट अत्यधिक मात्रामा पर्यटकहरु नेपाल आउने गरेका छन् । नयाँबर्ष आउन दुईदिन अघि देखि नै भारतीय पर्यटकहरु नेपाल प्रवेश गरेका छन् । भारतीय पर्यटकहरु आएका कारण वीरगन्ज भन्सार नाकामा भारतीय सवारी साधनहरुको चाप बढेको छ । तीनदिन अघि वीरगन्ज भन्सार कार्यालयमा भारतीय दुईपांग्रे र चारपांग्रे सवारी साधनहरु एकहजार पाँचसयको हाराहारीमा भित्रिएका थिए ।
हिजो डिसेम्बर ३१ तारिक एक दिनमा मात्रै वीरगन्ज भन्सार नाकाबाट चार हजारको संख्यामा दुईपांग्रे र चारपांग्रे सवारी साधनहरु दर्ता भएर भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार अहिलेसम्म वीरगन्ज भन्सारबाट एक हजार भन्दा बढी भारतीय दुईपांग्रे र चार पांग्रे सवारी साधनहरु नेपाल प्रवेश गरेको छ । साँझसम्ममा यो संख्या पनि बढ्ने अनुमान गरिएको छ ।
भारतीय सवारी साधनको अत्यधिक चापले दुर्घटनाको जोखिम
यसैबीच नयाँ बर्षमा नेपाल घुम्ने आउने भारतीयहरु सवारी साधनको सडकमा चाप हुँदा दुर्घटनाको जोखिम पनि बढेको छ । राजमार्गमा भारतीय सवारी साधनहरु तीब्र गतिमा चलाउने र सवारीको चाप पनि बढ्दा दुर्घटनाको जोखिम पनि बढेको हो ।
यहीबीचमा धनुषाको जनकपुर–ढल्केवर सडक खण्डमामा आज बिहान भारतीय नम्बरको स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका– ७ स्थित बाबाको ढाबा होटेल नजिक ढल्केवर–जनकपुर सडक खण्डमा जनकपुरबाट लक्ष्मिनियाँ तर्फ जाँदै गरेको स ८ प ३०५७ नम्बरको मोटरसाइकललाई बाटो क्रस गर्ने क्रममा बीआर ०६ डीटी १९८८ नम्बरको भारतीय स्कर्पियो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर रूपले घाइते भएका हुन् ।
घाइते हुनेमा मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका – १ मिल्स एरिया निवासी अन्दाजी १६ वर्षीय बिबेक राय र पछाडि सवार सोही स्थानका १६ वर्षीय आयुष पाठक रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूको खुट्टा र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको र घाइतेहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको बुझिएको छ । प्रहरीले स्कर्पियो चालक भारतको बिहार राज्यस्थित मुज्जफरपुर निवासी ३५ वर्षीय धर्मेन्द्र सहनीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लक्ष्मीनियामा राखेको छ ।
















