२३ पुष,सेढवा । पर्साको जिराभवानी गाँउपालिकामा आयोजित दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नेरा माबि सेढवा बिर्ता प्रथम भएको छ। सेढवाले ११ वटा स्वर्ण पदक, ३ वटा रजत पदक र ८ वटा कास्य पदक प्राप्त गरी प्रथम भएको हो । त्यस्तै नेरा माबि कठकुईया बसन्तपुर महादेवपट्टी द्वितीय भएको छ ।
महादेवपट्टीले ४ वटा स्वर्ण पदक, ९ वटा रजत पदक र ४ वटा कास्य पदक प्राप्त गरेको छ । त्यस्तै बितो महतो जनता मा. बि. जितपुर नौकाटोला तृतीय भएको छ । वित्तो मावि नौकाटोलाले ४ वटा स्वर्ण पदक, ८ वटा रजत पदक र ५ वटा कास्य पदक प्राप्त गरेको छ ।
चिसोले प्रतियोगितामा सहभागि तीनजना छात्रा बेहोस
पर्साको जिराभवानी गाँउपालिकामा सम्पन्न दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी तीनजना बिद्यार्थीहरु अत्यधिक जाडोले बेहोस भएका थिए । बिहानदेखि बाक्लो हुस्सु र जाडोमा पातलो कपडा लगाएर खेलमा सहभागी भएका तीनजना छात्राहरु बेहोस भएका हुन् । नेपाल राष्ट्रिय मावि सेढवा बिर्ता, नेरा माबि कठकुईया बसन्तपुर र बितो महतो जनता माबि जितपुर नौकाटोलाका १÷१ जना छात्राहरु बेहोस भएका थिए । ती बिद्यार्थीहरुलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरी घर पठाइएको थियो ।
जिराभवानी गाँउपालिकाको आयोजना गरिएका सो प्रतियोगिता वडा नं ४ मा रहेको सुपौली खेल मैदानमा भएको थियो । प्रतियोगितामा छात्र र छात्रा तर्फ १०० मीटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३ हजार मिटर दौड प्रतियोगिता भएको थियो । छात्र र छात्रा तर्फ हाईजम्प, लङजम्प, १०० गुणा ४ रिले दौड र ज्याभलिङ्ग थ्रो लगायतको प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा पालिकाभित्र रहेका ३ वटा माबि, २ वटा निमाबि र १२ वटा प्राविका बालबालिकाहरुको सहभागिता रहेको थियो ।
पालिकाका शिक्षा अधिकृत शिवराज फुयालको अध्यक्षता तथा वडा नं १ का वडाध्यक्ष रामशरण ख्वास थारुको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार बितरण कार्यक्रममा रमाशंकर चौधरी, कृपासिन्धु पटवारी, जितेन्द्र प्रसाद गौरो, सन्तोष चौरसियाले मन्तव्य व्यक्त गरेका थिए ।