Logo

६ फागुन,वीरगञ्ज । प्याब्सन अन्तरविद्यालय क्रिकेट र फुटबलः ज्ञानदा, अल्पाईन, सफल, लिटिल एञ्जल्ससहित विभिन्न टिमको शानदार प्रदर्शन

वीरगञ्ज । नवौं संस्करणको प्याब्सन अन्तरविद्यालय टी–ट्वान्टी क्रिकेट तथा फुटबल प्रतियोगितामा आज विभिन्न विद्यालयबीच प्रतिस्पर्धात्मक खेलहरु सम्पन्न भएका छन् । क्रिकेटतर्फ तीन खेलहरू सम्पन्न भए भने फुटबलतर्फ आज चार खेल भएका छन् ।

क्रिकेटतर्फको खेल परिणाम
पहिलो खेलमा अल्पाईन स्कुलले वाकओभर पाउँदै सफल एकेडेमीलाई पराजित गरेको छ । सफल एकेडेमी निर्धारित समयमा उपस्थित नभएपछि अल्पाईन विजयी घोषित भएको हो । दोस्रो खेलमा ज्ञानदा एकेडेमी र वीरगञ्ज स्कुलबीच भिडन्त भएको थियो ।

टस जितेर ब्याटिङ रोजेको ज्ञानदाले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १४९ रनको विशाल योगफल तयार ग–यो । ज्ञानदाका आदिल अन्सारीले अविजित ५१ रन बनाउँदै अर्धशतक पूरा गरे भने प्रियान्शु सर्राफले ४८ रन जोडे ।

१५० रनको लक्ष्य पछ्याएको वीरगञ्ज स्कुल १४ ओभरमा ७६ रनमै समेटियो । ज्ञानदाका प्रियान्शु सर्राफ बलिङमा पनि चम्किए, उनले तीन विकेट लिए भने खिलराज सर्राफ र यथार्थ कलवारले २÷२ विकेट हात पारे। आदित्य महतोले पनि एक विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ ज्ञानदा एकेडेमीका प्रियान्शु सर्राफ घोषित भए ।

तेस्रो खेलमा मास्कट एकेडेमी र वीरगञ्ज पब्लिक स्कुल भिडेका थिए । टस जितेर ब्याटिङ रोजेको मास्कटले १५ ओभरमा ७ विकेट गुमाउँदै ८४ रन बनायो । ८५ रनको लक्ष्य पछ्याएको वीरगञ्ज पब्लिक स्कुल १५ ओभरमा ६ विकेट गुमाएर ६५ रनमै रोकियो । मास्कटका सलमान आलम र ईशान ठाकुरले २÷२ विकेट लिए भने विश्वास पटेल र लकी शर्माले १÷१ विकेट हात पारे ।

वीरगञ्ज पब्लिक स्कुलका उज्जल कुमार र शिवम चौधरीले २÷२ विकेट लिए भने आशिष साह, प्रथम चौधरी र आलोक कुमार चौधरीले १÷१ विकेट लिए । ‘म्यान अफ दी म्याच’ वीरगञ्ज पब्लिक स्कुलका ईशान ठाकुर घोषित भए ।

फुटबलतर्फको खेल परिणाम
प्याब्सन जुनियर नकआउट फुटबल प्रतियोगिता अन्र्तगत आजको पहिलो खेल एमईएस स्कुल र श्री आदर्श स्कुलबीच भएको थियो । प्रतिस्पर्धात्मक खेलमा एमईएस स्कुल १–० गोल अन्तरले विजयी भयो । ‘प्लेयर अफ दी म्याच’ आदर्श स्कुलका सर्वेस माझी घोषित भए ।

दोस्रो खेलमा लिटल फ्लावर र बिकन स्कुलबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा गोल हुन नसकेपछि टाइब्रेकरमा गएर खेल झनै रोमाञ्चक भएको थियो । ट्राई ब्रेकरमा पनि बराबरी भएपछि सडेन डेथमा लिटल फ्लावर १–० गोल अन्तरले विजयी बन्यो ।

तेस्रो खेल मुनलाईट र सफल एकेडेमीबीच भएको थियो । प्रतिस्पर्धात्मक खेलमा सफल एकेडेमीले ४–३ गोल अन्तरले जित हात पा–यो । सफलका जर्सी नम्बर १० का राजीव चौधरीले चार गोल गर्दै टिमलाई जित दिलाए । उनलाई ‘म्यान अफ दी म्याच’ घोषित गरियो ।

अन्तिम खेल मास्कट एकेडेमी र लिटिल एञ्जल्सबीच भएको थियो । निर्धारित समयमा दुवै टिमले गोल गर्न सकेनन् । टाइब्रेकरमा लिटिल एञ्जल्सले ३–२ गोल अन्तरले जित हासिल गरेको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए ।

उनकाअनुसार खेलको ‘प्लेयर अफ दी म्याच’ मास्कट एकेडेमीका रेहान पन्चे मगर घोषित भएका छन् । सबै खेलका उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको सचिव सङ्ग्रौलाले बताए ।


सम्बन्धित समाचार