Logo

१९ फागुन,वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकाको एक विद्यालयमा बेहोस भएका छात्रछात्राहरु डिस्चार्ज भएका छन् । गाउँपालिकाको वडा नम्बर–४ कटिबलुवामा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका छात्रछात्राहरु आज बिहान प्रर्थानाको समयमा बेहोस भएका थिए ।

विद्यार्थीहरु बेहोस भएर लड्न थालेपछि पालिकाले एम्बुलेन्स बोलाएर पोखिरया अस्पताल र वीरगञ्जका अस्पतालहरुमा पठाएको छ । पोखरिया अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर अनिल कुमार यादवका अनुसार एकजना छात्र र १३ जना छात्रा गरी १४ जना भर्ना भएका थिए ।

एकजना छात्रलाई उनका अभिभावकले नै वीरगञ्ज रिफर गर्न आग्रह गरेपछि नारायणी अस्पतालमा रिफर गरिएको र अन्य बाँकीको पोखरिया अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको पोखरिया अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.यादवले बताए ।

उनका अनुसार प्रार्थना गर्ने समयमा विद्यार्थीहरुलाई रिंगटा लाग्ने, ढल्ने गरेपछि विद्यार्थीहरु बेहोस भएका थिए । एकजना छात्र चाँहि जिउ बटार्ने, हातखुट्टा तन्काउने गरेपछि उनका अभिभावकले नै थप उपचारका लागि वीरगन्ज रिफर गर्न लगाएकोले नारायणी अस्पतालमा रिफर गरिएको बताए ।

विद्यार्थीहरु बेहोस हुनुको कारण नखुलेपनि यस्तो समस्यालाई कन्भर्सन डिस्अर्डरको आशंका गरिएको डा.यादवले बताए । अहिले प्रारम्भिक शंका मात्रै रहेको जनाउदै डा.यादवले एकदुई दिनपछि फेरी बोलाएको र उनीहरुको समस्या हेरेर थप जानकारी हुने उनले बताए ।


सम्बन्धित समाचार