
८ चैत,वीरगञ्ज । पर्सा जिल्लाको डोकैला बहुअरीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले ४१ वर्ष ३ महिना २ दिन शिक्षण सेवा गरी सेवानिवृत्त भएका शिक्षक नर्मदेश्वर मिश्रालाई भव्य विदाई तथा सम्मान गरेको छ।
२०४० सालमा रानीगंज निमाविबाट शिक्षण यात्रा सुरु गरेका मिश्राले २०४५ सालमा डोकैला बहुअरीमा सरुवा भई लामो समयसम्म विद्यार्थीहरुलाई ज्ञान प्रदान गरे। २०८१ सालमा सेवानिवृत्त भएका मिश्राको सम्मानमा विद्यालयले विशेष कार्यक्रम आयोजना गरेको थियो।
विद्यालयका प्रधानाध्यापक अजय कुमार यादवको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक, कर्मचारी र विद्यार्थीहरुले मिश्राको योगदानको उच्च प्रशंसा गर्दै उनलाई सम्मान गरे। विद्यालयका शिक्षकहरुले मिश्रालाई उनको निवाससम्म पुर्याएर थप सम्मान प्रकट गरे।
कार्यक्रममा किरण प्रसाद यादवले स्वागत मन्तव्य राखेका थिए भने राजेश ठाकुरले कार्यक्रम सञ्चालन गरेका थिए। नेपाल शिक्षक महासंघ पर्साका सह–सचिव रामबालक प्रसाद यादवले मिश्राको योगदानको चर्चा गर्दै यो कार्यक्रम सफल भएको जानकारी दिए।