Logo

२७ चैत,काठमाडौं । पाकिस्तानले हालैका वर्षहरूमा सामना गरिरहेका विभिन्न संकटमध्ये सार्वजनिक पूर्वाधारको संकट एक प्रमुख समस्या बनेको छ । प्लास्टिक फोहोरको आपतकालीन अवस्था, पानीको अभाव र अव्यवस्थित शहरीकरणले देशका ठूला शहरमा वातावरणीय अराजकता बढेको छ ।

यी समस्याले जनजीवनलाई मात्र होइन, देशको आर्थिक र सामाजिक संरचनालाई समेत गम्भीर चुनौती दिइरहेका छन् ।

प्लास्टिक फोहोरको संकट
पाकिस्तानमा प्लास्टिक फोहोरको समस्या दिनानुदिन चर्किंदै गएको छ । मार्च ३० मा मनाइने अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको सन्दर्भमा प्रकाशित द न्यूज को एक लेखअनुसार, देशले वार्षिक रूपमा ठूलो मात्रामा प्लास्टिक फोहोर उत्पादन गर्छ ।

तर, यसको व्यवस्थापन र पुनर्चक्रणको प्रभावकारी प्रणालीको अभाव छ । कराची जस्ता शहरहरूमा सडक र नालाहरू प्लास्टिकले भरिएका छन्, जसले महामारीको जोखिम बढाएको छ ।

यो समस्याले वातावरणीय प्रदूषण मात्र नभई सार्वजनिक स्वास्थ्यमा पनि गम्भीर असर पारिरहेको छ । विशेषज्ञहरूले तत्काल कदम नचालिए यो संकटले देशको पूर्वाधार र अर्थतन्त्रलाई थप कमजोर बनाउने बताएका छन् ।

पानीको संकट

पाकिस्तान पिउने पानीको संकट झन् गहिरिँदै गएको छ । इस्लाम खबर गत मार्च २५ मा प्रकाशित भएको लेखमा पाकिस्तानले भयावह रूपमा पानीको संकट झेलिरहेको उल्लेख छ । उक्त लेखमा यसलाई ’राष्ट्रिय संकट’का रूपमा देखाइएको छ ।

सिन्ध र बलुचिस्तान जस्ता क्षेत्रमा खडेरीको खतरा बढ्दै गएको छ । ती शहरहरूमा कृषि र पिउने पानीको आपूर्ति प्रभावित भएको छ । जलस्रोतको अपर्याप्त व्यवस्थापन र पुरानो पानी वितरण प्रणालीका कारण ग्रामीण र शहरी दुवै क्षेत्रमा पानीको अभाव चर्किएको छ ।

पानी आपूर्ति प्रणालीले बढ्दो जनसंख्याको माग पूरा गर्न सकेको छैन । यसले सार्वजनिक पूर्वाधारको कमजोरीलाई उजागर गरेको छ ।

कराचीमा शहरी पूर्वाधारको संकट

पाकिस्तानको आर्थिक केन्द्र मानिने कराची यतिबेला अराजकताको पर्याय बनेको छ । द न्यूजमा प्रकाशित ’अराजकताको शहर’ लेखमा ट्राफिक जाम, फोहोरको थुप्रो र बिजुली तथा पानीको अनियमित आपूर्तिले जनजीवन अस्तव्यस्त बनाएको उल्लेख छ ।

शहरको सडक, ढल र बिजुली प्रणाली दशकौंदेखि मर्मत र विस्तारको पर्खाइमा छन् । जनसंख्या वृद्धिसँगै शहरी योजना र पूर्वाधार विकासले गति लिन नसक्दा कराचीका बासिन्दाहरू आधारभूत सुविधाबाट वञ्चित छन् । यो अवस्थाले देशका अन्य शहरहरूमा पनि यस्तै संकट निम्तिन सक्ने संकेत गरेको छ ।

पूर्वाधारको अवस्था र सरकारी प्रयास

बिजनेस रेकर्डरको अर्को एक समाचारमा पाकिस्तानको सार्वजनिक पूर्वाधारको दयनीय अवस्थालाई औंल्याइएको छ । सडक, पुल र सार्वजनिक यातायात प्रणालीको अभावले देशको आर्थिक गतिविधिलाई सुस्त बनाएको छ ।

त्यस्तै, डनमा प्रकाशित मार्च ११ को समाचारले बलुचिस्तानको सडक परियोजनामा भएको ढिलाइ र भ्रष्टाचारको मुद्दालाई उजागर गरेको छ ।

सरकारले विभिन्न पूर्वाधार परियोजनाहरू घोषणा गरे पनि कार्यान्वयनमा कमजोरी र बजेट अभावले यी प्रयासहरू प्रभावकारी हुन सकेका छैनन् ।

सम्भावित समाधान

यो संकटको समाधानका लागि बहुआयामिक दृष्टिकोण आवश्यक रहेको विज्ञहरूको सुझाव छ । पहिलो, प्लास्टिक फोहोर व्यवस्थापनका लागि पुनर्चक्रण संयन्त्र र नागरिक सचेतना अभियानलाई प्राथमिकता दिनुपर्छ ।

दोस्रो, पानीको संकट समाधान गर्न जलाशय निर्माण र पुराना जल प्रणालीको मर्मतमा लगानी बढाउनु जरुरी छ ।

तेस्रो, शहरी पूर्वाधार सुधारका लागि कराची जस्ता शहरमा दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयनको खाँचो रहेको विज्ञहरूले बताएका छन् । त्यस्तै भ्रष्टाचार नियन्त्रण र बजेटको पारदर्शी प्रयोगले मात्र यी परियोजनाहरूलाई सफल हुन सक्नेछन् ।


सम्बन्धित समाचार