
५ वैशाख, कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गएराति गोली प्रहार भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले दिएको जानकारी अनुसार, अध्यक्ष चौधरी निवासमा रहेकै बेला उनीमाथि गोली प्रहार भएको हो।
प्रहरीका अनुसार, प्रहार भएको गोली भित्तामा लागेको छ। राति विद्युत अवरुद्ध भएको समयमा अध्यक्ष चौधरी शौचालय गएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।
घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्। यो घटनाले स्थानीय क्षेत्रमा सनसनी पैदा गरेको छ।