
२८ चैत, वीरगञ्ज । देशभर अहिले सक्रिय मौसमी प्रणालीका कारण विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा भइरहेको छ। पछिल्ला ६ घण्टामा सबैभन्दा धेरै वर्षा मोरङमा मापन गरिएको छ, जहाँ २०० मिलिमिटरभन्दा बढी पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानहरूमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भेगको तुलनामा मध्यम र पूर्वी भेगमा वर्षा बढी परेको छ।
आज र भोलि अधिकांश प्रदेशका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, हिमाली भेगहरूमा हिमपात हुने सम्भावना छ। सुदूरपश्चिम लगायतका केही स्थानहरूमा हावाहुरीसमेत चल्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
वायु प्रदूषण अझै उच्च
वर्षासँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण केही घटेको भए पनि अझै अस्वस्थकर अवस्थामा नै रहेको छ। वायुको गुणस्तर मापन सूचक (AQI) १५० नाघेपछि सबैका लागि अस्वस्थ मानिन्छ भने हाल काठमाडौँमा एक्यूआई १९० भन्दा माथि रहेको छ। मौसमविद्हरूका अनुसार जारी वर्षाले प्रदूषणमा केही सुधार ल्याउन सक्ने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यही चैत ९ र १० गते देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएकामा त्यसपछि पर्याप्त वर्षा हुन सकेको छैन ।
पश्चिमी वायुको प्रभाव ज्यादै कमजोर रहेकाले विगत लामो समयदेखि देशभर पर्याप्त वर्षा नभएको तथा तापक्रममा वृद्धि हुँदा वायुमण्डल सुक्खा रहेको विभागकी प्रवक्ता विभूती पोखरेलले बताए ।
त्यसैले तुवाँलोको प्रभावले वायुमण्डलको पारदर्शितासमेत न्यून हुन गई हालको वायु प्रदूषणलाई थप जोखिमयुक्त अवस्थामा पुर्याउन भूमिका खेलेको उनले बताए।
अहिले ठूलो वर्षा नहुने र देशभरको मौसममा अपेक्षित सुधार हुने अवस्था नदेखिएकाले मौसमसम्बन्धी जानकारी अद्यावधिक गरिरहन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अपिल गरेको छ ।