
२९ चैत, झापा । तीनकुनेमा भएको राजावादी आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई भारतको आसाम राज्यबाट पक्राउ गरी झापा ल्याइएको छ । उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष सुरक्षा व्यवस्थाका साथ काँकडभिट्टा नाकाबाट नेपाल भित्र्याएको हो ।
प्रहरी स्रोतका अनुसार अब उनलाई हवाइमार्गमार्फत झापाबाट काठमाडौं लगिने तयारी भइरहेको छ । पक्राउ परेपछि प्रसाईंलाई नेपाल भित्र्याउने क्रममा नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली सक्रिय रूपमा संलग्न थियो ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा प्रसाईं मुख्य योजनाकार रहेको बताइएको छ। उक्त प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए। त्यसयता फरार रहेका प्रसाईं भारततर्फ भागेका थिए ।
प्रहरी स्रोतका अनुसार उनी बिहीबार भारतको आसाममा फेला परेका थिए र समन्वयपछि शुक्रबार बिहान नेपाल ल्याइएको हो । नेपाल प्रहरीले उनलाई अब थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौं लाग्ने तयारी गरेको छ ।
यो पनि :
भारतमा पक्राउ परेका दुर्गा प्रसाईंलाई विमानमार्फत काठमाडौं ल्याइँदै