
३१ चैत, वीरगञ्ज । वीरगञ्जमा आइतवार दिउँसो १२ सम्मका लागि कर्फ्यु लागेको छ । कर्फ्युका कारण रक्सौल नाका भएर नेपाल भित्रने यात्रुहरु सीमा क्षेत्रमा अलपत्र परेका छन् ।
उनीहरुलाई अन्य नाका भएर गन्तव्य स्थान सम्म जान स्थानीय प्रशासनले सुचित गरेको छ । देशका विभिन्न स्थानबाट वीरगञ्ज भित्रिएका रात्री वसका यात्रुहरु समेत गण्डक चोकमा अलपत्र परेका छन् । सडकमा खटिएका सुरक्षाकर्मीले कफ्र्यु लागेको स्थान बाहेको रुट प्रयोग गर्न सुचित गरेका छन् ।
हनुमान जयन्तीको उपलक्ष्यमा शनिवार वीरगञ्जमा निकालिएको शोभा यात्रामा झडप भएको थियो । दुई पक्ष विच भएको अक्रमणमा परी दजर्न भन्दा बढी सर्वसाधारण र प्रहरी घाइते भएका थिए । स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु लगाउनु परेको थियो ।
आइतबार विहान देखि वीरगञ्जको अवस्था सामान्य छ । कर्फ्यु आदेश भएका इलकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । झडप हुन सक्ने संकास्पद स्थानमा प्रहरीले निगरानी बढाएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सयुक्त रुपमा सडकमा गस्ती बढाएका छन् ।
जिल्ला प्रशासन कार्यालयले शनिवार साँझ ७.३० बजे देखि आइतवार दिउँसो १२ बजे सम्मका लागि कर्फ्युआदेश जारी गरेको छ । अत्यावश्यक सवारी साधन दमकल, खानेपानी, एम्बुलेन्स, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, फोहोर व्यवस्थापनको सवारी साधन बाहेक अन्य सवारी नचलाउन स्थानीय प्रशासनले आदेश गरेको छ । त्यसैगरी पूर्व निर्धारित परिक्षाका लागि प्रवेश पत्र बोकेका विद्यार्थीहरुलाई समेत आवत जावतमा सहज बनाईएको छ ।
सीमा क्षेत्रमा अलपत्र परेकाहरु सिर्सिया र वलिरामपुरको बाटो हुदै गन्तब्य स्थान तर्फ लागेका छन् । यता गण्डक चोकमा रात्री गाडीबाट आएका यात्रुहरु समेत गण्डक नगहरको बाटो भएर आफ्नो गन्तब्य तर्फ लागेको प्रहरीले जनाएको छ ।
वीरगञ्जबाट बाहिर जाने व्यक्तिहरुको गन्तब्यमा पुग्ने टिकट हेरेर प्रहरीले आवत जावतमा सहजता दिने गरेको छ ।