Logo

३१ चैत, काठमाडौँ । प्री मनसुन सक्रिय भएसँगै चट्याङका घटनामा वृद्धि भएको छ । चैत २७ यता देशका विभिन्न स्थानमा परेको चट्याङका कारण आठ जनाको ज्यान गइसकेको छ भने पछिल्लो तीन दिनमा २८ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चालु वर्ष वैशाखदेखि चैत २८ सम्म चट्याङका कारण ७८ जनाले ज्यान गुमाइसकेका छन् । एक वर्षमा ३०९ जना घाइते हुँदा ५५६ घरपरिवार प्रभावित भएका छन्। चट्याङबाट झण्डै १ करोड ४३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्राधिकरणले चट्याङबाट बच्न जनसाधारणमा सचेतना फैलाउने अभियान चलाइरहेको छ । “फेसबुक, एक्स, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल र आमसञ्चार माध्यममार्फत पूर्वसूचना र सुरक्षा उपायहरू प्रचार गरिरहेका छौँ,” प्रवक्ता रामबहादुर केसीले बताए । साथै, ‘सतर्क’ नामक पूर्वसूचना प्रणाली पनि सञ्चालनमा ल्याइएको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्री मनसुनमा वायुमण्डलीय उतारचढावले चट्याङको सम्भावना बढाउँछ । यस्तो अवस्थामा घरभित्रै बस्न, बिजुलीका उपकरण बन्द गर्न, र बाहिर यात्रा नगर्न सुझाव दिइएको छ। खुला ठाउँमा परेमा घुँडा टेकेर टाउको छोपेर बस्न र रुख वा बिजुलीको पोलमुनि नबस्न आग्रह गरिएको छ ।

नेपालसहित दक्षिण एसियाली देशहरू—भारत, बङ्गलादेश र भुटान—मा प्री मनसुनको समयमा चट्याङ बढी पर्ने गरेको छ। भारतमा मात्रै केही दिनमा ६० जनाको मृत्यु चट्याङकै कारण भएको जनाइएको छ ।

सुरक्षाका लागि पूर्वसावधानी र समयमै सतर्कता अति आवश्यक छ ।


सम्बन्धित समाचार