
३१ चैत, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदको लिखित परीक्षामा मागभन्दा निकै कम सङ्ख्यामा पास भएका छन् । त्रिवि सेवा आयोगले सार्वजनिक गरेको नतिजामा मागको भन्दा कम सङ्ख्यामा उत्तीर्ण भएको पाइएको हो ।
कृषि र पशु विज्ञान अध्ययन संस्थान, वन विज्ञान एवम् विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विषयहरुको लिखित परीक्षामा कम उत्तीर्ण भएका हुन् । कम्प्युटर विज्ञानमा २० जना उपप्राध्यापकका लागि गरिएको विज्ञापनको लिखित परीक्षामा ३८ जना सहभागी भएकोमा पाँच जना पास भएका छन्।
गणित विषयका लागि २० जनाको विज्ञापन माग गरेकोमा एक सय चार जनाले परीक्षा दिंदा दुई जना मात्रै पास भएका छन् । तथ्याङ्कशास्त्रमा १५ जनाको माग रहेकोमा ३६ जनाले लिखित परीक्षा दिंदा दुई जना मात्रै पास भएका छन् ।
यस्तै प्राणीशास्त्रमा २० जनाका लागि गरिएको विज्ञापनमा १४ जना पास भएका छन् । ११ जना खुला तर्फ माग गरेकोमा सात जना पास भएका छन् । अपाङ्ग, मधेसी र दलित कोटाबाट भने कसैले पनि लिखित परीक्षा पास गर्न सकेनन् ।
भौतिक शास्त्रतर्फ २५ जनाका लागि विज्ञापन माग गरिएकोमा एक सय ७५ जनाले परीक्षा दिंदा तीन जना मात्रै पास भएका छन् । रसायनशास्त्रतर्फ २४ जनाका लागि विज्ञापन माग गरिएकोमा एक सय २८ जनाले परीक्षा दिंदा ११ जना पास भएका छन् ।
यस्तै डाइटेटिक्स, बायोक्यामेस्ट्री, फरेस्ट्री, दुग्ध विज्ञान, एनिमल न्युट्रिसन विषयको लिखित परीक्षामा भने कुनै पनि परीक्षार्थीले लिखित परीक्षा पास गर्न सकेनन् । लिखित परीक्षामा पास भएकाहरुको अन्तर्वार्ता आउँदो जेठ ४ गतेदेखि सञ्चालन हुने त्रिवि सेवा आयोगले जनाएको छ ।