
१ बैशाख, वीरगञ्ज । वीरगञ्जमा कर्फ्यु हटेको छ भने चार क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । शनिबार बेलुका दुई समूहबीचको झडपपछि जारी गरिएको कफ्र्यू आदेश पर्सा जिल्ला प्रशासन कार्यालयले हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र लागू गरिएको कर्फ्यु हटाइएको जानकारी दिएका हुन् ।
प्रजिअ अर्यालका अनुसार कर्फ्यु हटाउने निर्णय आइतबार सम्पन्न सर्वपक्षीय बैठकको निष्कर्ष तथा क्षेत्रको समग्र शान्ति सुरक्षाको अवस्थाको विश्लेषणपछि गरिएको हो । “परिस्थिति क्रमशः सुधार हुँदै गएकोले कफ्र्यू आदेशलाई निरन्तरता दिइरहनुपर्ने अवस्था देखिएन,“ प्रजिअ अर्यालले बताए ।
यद्यपि, पूर्णरूपमा स्थिति सामान्य भइनसकेको भन्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ क) अनुसार निषेधाज्ञा जारी गरिएको छ । उक्त आदेश अनुसार वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्म पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ गण्डक चोक, दक्षिणतर्फ शंकराचार्य गेट भित्रका क्षेत्रहरूमा कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने आदेश जारी गरिएको छ ।
प्रजिअ अर्यालले निषेधाज्ञा उल्लङ्घन गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइ कडा कारबाही गरिने चेतावनी समेत दिएका छन् ।
शनिबार बेलुका ६ः३० बजेपछि दुई समूहबीच भएको झडपपछि वीरगञ्जमा तनाव सिर्जना भएको थियो । त्यसैका कारण तत्कालीन अवस्थामा शान्ति सुरक्षाका लागि कफ्र्यू आदेश लागू गरिएको थियो ।
कर्फ्यु हटाइए पनि निषेधाज्ञा जारी रहने भएकाले नागरिकहरूलाई संयमित रहन, अफवाहमा नपर्न तथा शान्ति र सद्भाव कायम राख्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।