Logo

३ वैशाख,काठमाडौं । मधेशवादी अभियन्ता तथा मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजका विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार डा. अहिराजविरुद्ध परेको जाहेरीका आधारमा अनुसन्धान जारी छ। जाहेरवाला पक्षको दाबी पुष्टि हुने÷नहुने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिने उनले बताए।

जाहेरीमा डा. अहिराजले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ। पीडितले शुरूमा राष्ट्रिय महिला आयोगमा उजुरी दिएकी थिइन् र पछि केही महिला अधिकारकर्मीको सहयोगमा प्रहरीमा पुगेकी हुन्।

पीडितले गत माघ १० गते जिल्ला प्रहरी परिसर, भद्रकालीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन्। उक्त जाहेरी फागुन ३ गते प्रहरी कार्यालयको दर्ता किताबमा अभिलेखित भएको थियो। सोही आधारमा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ आदेश माग गरिएको पीडितको पक्षमा काम गरिरहेकी एक सहयोगीले जानकारी दिइन्। उनका अनुसार पक्राउ पुर्जी जारी भएको चार दिन भइसकेको छ, तर अहिराज अझै प्रहरीको सम्पर्कमा आएका छैनन्।

जाहेरवालीको पहिचान गोप्य राखिएको छ र उनलाई परिवर्तित नाम २६ परिसर ३२ (०८१–०८२) बाट उल्लेख गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार