Logo

४ वैशाख, सप्तरी । तीन वर्षअघि यौनहिंसाबाट जोगिएकी दलित किशोरी पूजा कुमारी राम मंगलबार शंकास्पद अवस्थामा मृत भेटिएकी छन् । सुरुंगा नगरपालिका–७ हरिपुर रामटोलकी १८ वर्षीया पूजाको शव घरदेखि करिब एक किलोमिटर दक्षिण–पूर्वतर्फ रहेको तीनगछियाँ भन्ने ठाउँमा फेला परेको हो ।

सोमबार राति घरबाट बेपत्ता भएकी पूजाको शव मंगलबार बिहान स्थानीयले फेला पारेका थिए । मृतककी आमा रामवतीदेवीले छोरीको हत्या भएको भन्दै बुधबार इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दर्ता गराएकी छन् ।

घटनाको गम्भीरताका कारण प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिमप्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । “प्रारम्भिक अनुसन्धानमा हत्या भएको आशंका छ, तर पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको छ ,“ उनले भने ।

२०७८ साल मंसिर १४ गते विद्यालयबाट फर्किने क्रममा पूजा यौनहिंसाको प्रयासबाट जोगिएकी थिइन् । स्थानीय ठाकुर थरका एक किशोरले आँपको बगैंचामा लगेर जबर्जस्ती गर्न खोजेपछि कराएर भागेकी पूजाले सो घटनाबारे उजुरी दिएकी थिइन् ।

प्रहरीले मंसिर २० गते आरोपी किशोरलाई नियन्त्रणमा लिएर मुद्दा अगाडि बढाएको थियो । सप्तरी जिल्ला अदालतले किशोर नाबालक भएकाले बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार ८ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना तथा २० हजार क्षतिपूर्ति तिर्ने फैसला सुनाएको थियो । तर फैसलापछि किशोर फरार भएका थिए ।

फरार आरोपीकै कारण यौनहिंसाको पुनः त्रासमा परेकी पूजाले त्यसयता विद्यालय जान छाडेकी थिइन् । उनी मसिलाल जनता प्राविधिक विद्यालय, कुशहामा कक्षा १० मा अध्ययनरत थिइन् ।

पूजाको मृत्युपछि घटनामा पहिले दोषी ठहर भइसकेका ती किशोर पुनः अनुसन्धानको घेरामा परेका छन् । प्रहरी उपरीक्षक खतिवडाले आरोपीलाई गाउँबाटै पक्राउ गरिएको पुष्टि गरेका छन् । “अघिल्लो घटनामा सजाय भोग्नु पर्ने र अहिलेको घटनामा पनि शंका लागेकाले उनलाई नियन्त्रणमा लिइएको हो,” उनले स्पष्ट पारे ।

अहिले यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक खतिवडाको भनाई छ ।


सम्बन्धित समाचार