Logo

४ वैशाख, काठमाडौँ । वातावरण विभागले वायुप्रदूषण नियन्त्रण गर्न गाडी, उद्योग र निर्माण क्षेत्रमा  कडाइका साथ अनुगमन अघि बढाउने जनाएको छ । विशेषगरी मङ्सिरदेखि जेठ महिनासम्म नेपालमा वायु प्रदूषणको मात्रा उच्च हुने भएकाले तत्कालीन योजना कार्यान्वयनमा ल्याउने विभागको तयारी छ ।

विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार प्रदूषणका प्रमुख कारणमा कलकारखाना र सवारीसाधनको धुवाँ, निर्माणस्थलबाट उड्ने धुलो, प्लास्टिकजन्य तथा जैविक फोहोर जलाउने, र घरायसी धुवाँ पर्दछन् । यी क्रियाकलाप नियन्त्रण गर्न विभागले व्यापक निगरानी र सचेतना कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

एक हप्ता अघि लामो खडेरीले प्रदूषण आपतकालीन स्तरमा पुगे पनि हालको वर्षाले केही राहत दिएको विभागको भनाइ छ । तर आगामी दिनमा पुनः प्रदूषण बढ्न सक्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

सार्वजनिक स्थानमा डढेलो लगाउने, फोहर जलाउने, र अनियन्त्रित धुवाँ उत्सर्जन गर्ने कार्यबाट जोगिन विभागले सर्वसाधारण र संस्थालाई अपिल गरेको छ । साथै स्वच्छ ऊर्जा प्रयोग र गाडीको नियमित मर्मतसम्भारले प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने सुझाव पनि दिइएको छ ।


सम्बन्धित समाचार