
४ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान जयन्तीको शोभायात्राको क्रममा दुई समुदायबीच भएको विवादपछि उत्पन्न तनाव क्रमशः कम हुँदै गएको छ । गत शनिबारदेखिको असहज अवस्था स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज र आम नागरिकको सक्रियताका कारण सामान्य बन्दै गएको हो ।
बुधबार सम्पन्न सर्वदलीय बैठकमा सामाजिक सद्भाव कायम गर्ने विषयमा छलफल भएको थियो । साथै, मुलुकका उच्चपदस्थ व्यक्ति, वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडाका अध्यक्ष, विभिन्न धार्मिक संघसंस्था, वीरगञ्ज उद्योग वाणिज्य संघलगायतले वीरगञ्जमा सामाजिक सद्भाव कायम गर्न अपील गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबैको सहयोग र सद्भावले नगरको अवस्था सामान्य हुँदै गएको बताएका छन् । उनले शान्ति सुरक्षा कायम गर्न भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
वीरगञ्जलाई गत चैत ३० गतेअघिकै अवस्थामा फर्काउने प्रयास भइरहेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी अर्यालले सोमबारदेखि लगाइएको जुलुस, प्रदर्शनलगायतका गतिविधिमाथिको प्रतिबन्ध छिट्टै हटाइने बताएका छन् ।