Logo

६ वैशाख, सेढवा (पर्सा) । दैनिक पाँच रुपैयाँ संकलन अभियानबाट १४ लाख रकम संकलन भएको छ । पर्साको ठोरी गाउँपालिका–१ भगवाननगरस्थित बृद्धबृद्धा तथा असहाय कल्याण संस्थाका लागि सञ्चालित ‘दैनिक पाँच रुपैयाँ संकलन अभियान’ अन्तर्गत ३ वर्ष ८ महिनामा १४ लाख रुपैयाँ संकलन भएको हो ।

अभियानका अगुवा सन्तोष श्रेष्ठका अनुसार, संकलित रकममध्ये १० लाख रुपैयाँ अक्षयकोषका रूपमा राष्ट्रिय वाणिज्य बैंक, सुवर्णपुर शाखामा संस्थाको खातामा जम्मा भइसकेको छ । सो कोषको ब्याजबाट संस्थाले हरेक महिना १० हजार रुपैयाँ सञ्चालन खर्चका लागि पाउने गरेको छ ।

अभियानमा एक व्यक्तिले वार्षिकरूपमा १ हजार ८२५ रुपैयाँ (प्रति दिन ५ रुपैयाँ) योगदान गर्नुपर्ने व्यवस्था रहेको छ । तर मनकारी व्यक्तिहरूले जन्मदिन, पुण्यतिथि, विवाहोत्सव लगायत अवसरहरूमा बढी आर्थिक सहयोग गर्दै आएको श्रेष्ठले बताए । श्रेष्ठले आफ्नै पहलमा सुरु गरेको अभियानमा हालसम्म धेरैजसो ठोरीवासीको सहभागिता छ ।

संस्थाको स्थापना करिब १२ वर्षअघि भारतीय सेनाबाट अवकाश प्राप्त ८० वर्षीय आसबहादुर गुरुङले गरेका थिए । गुरुङले आफ्नै खर्चमा अनाथ, अपाङ्ग, असहाय तथा बृद्धबृद्धाहरूलाई ल्याएर पालनपोषण गर्ने कार्य थालेका थिए । हाल संस्थामा २३ जनाले आश्रय पाएका छन् ।

संस्थाका दैनिक खर्च व्यवस्थापनमा कठिनाइ आउन थालेपछि सामाजिक अभियन्ता सन्तोष श्रेष्ठले दीर्घकालीन समाधानका लागि यो अभियान सुरु गरेका हुन् ।

अभियानमा हालसम्म पर्सा जिल्ला तथा अन्य ठाउँका दाताहरूले पनि निरन्तर सहयोग गर्दै आएका छन् । सामाजिक अभियन्ता प्रकाश थारुले मासिक १–२ पटक संस्थामा खाद्यान्न सहयोग गर्दै आएका छन् । सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाइएको यो अभियानले असहायहरूको जीवनमा सुरक्षा र सम्मानको अनुभूति गराएको सामाजिक अभियन्ता थारुको भनाई छ ।

स्थानीय बासिन्दा, संघ–संस्था र व्यक्तिहरूको निरन्तर सहयोगले यो संस्थालाई अझ दिगो र व्यवस्थित बनाउने विश्वास लिइएको छ ।


सम्बन्धित समाचार