Logo

७ वैशाख,चितवन । चितवनको सौराहास्थित रिभर पार्क इन्टरनेसनल रिसोर्टमा हिफर इन्टरनेसनल नेपालका कर्मचारीहरूका लागि आयोजित तीन दिने आवासीय तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सकारात्मक नेतृत्व, संवाद कौशल र संस्थागत परिवर्तनलाई उत्प्रेरित गर्ने उद्देश्यले इरिप्स (ERIPS) द्वारा आयोजित यो तालिम चैत  २७ देखि २९ गतेसम्म चलेको थियो। तालिममा हिफर इन्टरनेसनल नेपालका ३२ जना कर्मचारीहरूको सक्रिय सहभागिता थियो।

प्रख्यात प्रशिक्षक डा. आर.सी. लामिछानेले प्रशिक्षणको नेतृत्व गर्नुभएको थियो, जो केस वेस्टर्न रिजर्भ युनिभर्सिटी (CWRU), यूएसएबाट प्रमाणित प्रशिक्षक हुनुहुन्छ। अन्तर्राष्ट्रिय स्तरको यो तालिमले सहभागीहरूलाई उनीहरूको आन्तरिक शक्ति पहिचान गर्न प्रेरित गर्नुका साथै संस्थागत सोचमा सकारात्मक परिवर्तन ल्याउने दृष्टिकोण प्रदान गर्‍यो। यस तालिमको मुख्य उद्देश्य नयाँ ज्ञान प्रदान गर्नु मात्र नभई सकारात्मक परिवर्तनको अभ्यासद्वारा कार्य संस्कृति विकास गर्नु पनि थियो।

एप्रिसिएटिभ इन्क्वायरी (AI) को मुख्य सन्देश समस्यामा नभई सम्भावनाहरूमा केन्द्रित हुने र व्यक्ति, समूह तथा संस्थाको बलियो पक्षलाई पहिचान गरी भविष्यको लागि नयाँ सम्भावनाहरू सिर्जना गर्नु हो। परिभाषित (Define), खोज (Discover), सपना (Dream), डिजाइन (Design) र भाग्य (Destiny) को ५-डी चक्रमा आधारित यो तालिमले सहभागीहरूलाई आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनमा नयाँ दृष्टिकोण अपनाउन प्रेरित गर्‍यो।

संवाद, साझेदारी, विश्वास निर्माण र प्रेरणादायी नेतृत्व क्षमता विकास गर्न प्रशंसनीय खोज दृष्टिकोणले प्रभावकारी भूमिका निर्वाह गरेको थियो। प्रशिक्षण अवधिभर सहभागीहरूले “हामी जे गरिरहेका छौं, त्यसमा के राम्रो भइरहेको छ?” भन्ने दृष्टिकोणबाट गहन आत्मपरीक्षण र सामूहिक सिकाइको अनुभव गरे। सकारात्मक मनोवृत्तिको विकास, समर्पणको भावना र टोली कार्यमा सहकार्यको अभिवृद्धि यस तालिमका मुख्य उपलब्धिहरू थिए।

तालिमको उत्साहजनक प्रभाव सहभागीहरूका प्रत्यक्ष भनाइहरूबाट स्पष्ट हुन्छ। कतिपय सहभागीहरूले यस तालिमलाई जीवन परिवर्तन गर्ने अवसरको रूपमा लिएका छन्। सहभागी शोभाकर न्यौपानेले भने, “अब मलाई लाग्छ परिवर्तन सम्भव छ।” त्यस्तै, शान्ता भट्टराईले “प्रशंसनीय खोज दृष्टिकोण मेरो जीवनको अभिन्न हिस्सा बन्न गयो” भन्दै तालिमको गहिरो प्रभाव व्यक्त गरिन्।

बजार विज्ञ डा. राजेन्द्र ढकालका अनुसार, “सोच, भावना र दृष्टिकोण सकारात्मक भए, त्यसको प्रतिफल पनि सकारात्मक नै हुन्छ।” अर्का सहभागी जगत चौधरीले तालिमपछि आफूभित्रको जीवनदायी शक्ति पहिचान गरेको बताए। सहभागीहरूलाई यस तालिमले नयाँ सीप मात्र नभई नयाँ दृष्टिकोण, आत्मविश्वास र प्रेरणा प्रदान गरेको देखिन्छ। उनीहरूको भनाइबाट प्रशंसनीय खोज दृष्टिकोणलाई कार्यस्थलमा मात्र नभई व्यक्तिगत जीवनमा पनि प्रयोग गर्न सकिने सोचको विकास भएको स्पष्ट हुन्छ।

यो तालिम केवल ज्ञान आदानप्रदान गर्ने प्रक्रिया मात्र थिएन, बरु यो परिवर्तनको एक यात्रा थियो। सहभागीहरूले आ–आफ्नो संस्थागत भूमिकामा नयाँ दृष्टिकोणसहित योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रशंसनीय खोज दृष्टिकोणको अभ्यासले सकारात्मक कार्य संस्कृति निर्माण गर्न र संस्थागत लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

यस तालिमले कर्मचारीहरूमा नयाँ ऊर्जा, दृष्टिकोण र मनोवृत्ति भर्न सफल भएको छ। संगठनभित्र सहकार्य, विश्वास र प्रेरणादायी नेतृत्व विकास गर्ने वातावरण तयार गर्न यो तालिम अत्यन्त प्रभावकारी साबित भएको छ।

आगामी दिनहरूमा प्रशंसनीय खोज दृष्टिकोणलाई संस्थागत सोच र संस्कृतिमा समाहित गरी परियोजना डिजाइन, अनुगमन र मूल्यांकन, रणनीतिक योजना निर्माण, द्वन्द्व व्यवस्थापन तथा सञ्चार आदानप्रदानमा उपयोग गर्न सकेमा तालिमको परिकल्पना अनुसार सन् २०३५ सम्ममा अन्तर्राष्ट्रिय पुरस्कार जित्ने सम्भावना देखिन्छ।


सम्बन्धित समाचार