Logo

९ वैशाख,चितवन । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट प्रभावित भएका मध्यवर्ती क्षेत्रका बासिन्दालाई एक करोड २३ लाख छ हजार ८४२ रुपैयाँ राहत वितरण गरेको छ। निकुञ्जले गत साउनदेखि चैत मसान्तसम्ममा वन्यजन्तुबाट भएका ४१२ वटा घटनाका पीडितलाई सो रकम उपलब्ध गराएको हो।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका आठ जनाका परिवारलाई ८० लाख रुपैयाँ राहत प्रदान गरिएको छ। यसैगरी, घाइते भएका २७ जनाको उपचार खर्चका लागि १६ लाख ९३ हजार ६४२ रुपैयाँ, २४४ वटा खाद्यान्न बालीमा क्षति पुगेका किसानलाई १४ लाख १७ हजार रुपैयाँ राहतस्वरूप वितरण गरिएको छ।

त्यस्तै, ९५ वटा पशुधन क्षति भएका किसानलाई नौ लाख १९ हजार ७०० रुपैयाँ, १८ वटा घरगोठ क्षति भएका परिवारलाई एक लाख ६६ हजार रुपैयाँ, १३ स्थानमा भण्डारण गरिएको अन्नबाली क्षति भएकालाई ८३ हजार रुपैयाँ र कुखुरा क्षति भएकालाई २७ हजार ५०० रुपैयाँ राहत प्रदान गरिएको सूचना अधिकारी थापामगरले जानकारी दिए।

निकुञ्जले वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिको मूल्यांकन गरी राहत प्रदान गर्दै आएको छ। मृत्यु भएका व्यक्तिको परिवारलाई १० लाख रुपैयाँसम्म राहत दिने व्यवस्था छ भने घाइते र अन्य क्षतिको हकमा क्षतिको प्रकृति हेरेर राहत रकम निर्धारण गरिन्छ।

सूचना अधिकारी थापामगरले भने, ‘वन्यजन्तु मानव बस्तीमा पसेर गर्ने क्षतिको पूर्ण परिपूर्ति हुन नसक्ने भए पनि पीडितलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले निकुञ्जले यो राहत वितरण गर्दै आएको छ।’

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि निकुञ्जले राहत वितरणका साथै विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।


सम्बन्धित समाचार