
९ वैशाख,वीरगञ्ज । वीरगञ्ज लगायत मधेश प्रदेशमा आज अत्यधिक गर्मी बढेको छ। दिउँसो वीरगन्जको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा बढी पुगेको छ भने जनकपुरमा ३९ डिग्री सेल्सियस नाघेको छ।
नेपालमा मनसुन सुरु हुनुअघि नै गर्मीको यो बढ्दो क्रम जारी छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम वृद्धि भएको छ र देशका केही स्थानमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ।
महाशाखाले जारी गरेको बुलेटिनमा वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली नरहेको र स्थानीय तथा पश्चिमी वायुको प्रभावका कारण तापक्रम बढेको उल्लेख छ।
तराई मधेशका क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको र यो अझै बढ्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ। वीरगन्ज, जनकपुर, विराटनगर, नेपालगञ्जलगायतका स्थानमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ।
तीन दिनयता काठमाडौं उपत्यकामा पनि गर्मी बढेको महसुस गरिएको छ, जहाँ तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसको हाराहारीमा मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले यस वर्ष औसत वा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ।
गर्मी बढेसँगै चिकित्सकहरूले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सुझाव दिएका छन्। निस्कनै परे छाताको प्रयोग गर्न, प्रशस्त मात्रामा पानी पिउन, सनब्लक क्रिम र चश्माको प्रयोग गर्न उनीहरूको आग्रह छ।