
१७ बैशाख, वीगरञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर वीरगञ्जमा विद्यमान खानेपानीको समस्या दीर्घकालिन समाधानका लागि ध्यानाकर्षण गराएका छन् ।
मंगलबार मन्त्रालयमै मन्त्री यादवलाई भेटेर मेयर सिंहले यस वर्ष पनि गर्मी सुरु भएसँगै चापकलहरु सुक्न थालेको र त्यसले खानेपानीको समस्या सुरु भएकोले यसको दीर्घकालीन समाधानका लागि मन्त्री यादवसँग आग्रह गरे । मेयर सिंहले अहिले वीगरञ्जमा सञ्चालनमा रहेका ओभरहेड पानी ट्यांकीको पाइप लाइन नपुगेका टोलहरुमा पाइप लाइन विस्तार गराइ दिन मन्त्री यादवलाई अनुरोध गरे ।
मन्त्री यादवले नेपाल खानेपानी संस्थान सञ्चालक समितिको बोर्ड बैठकमा छलफल गरेर वीरगञ्जमा खानेपानीको समस्या समाधानका लागि ठोस निर्णय लिने प्रतिबद्धता जनाएको मेयर सिंहले जानकारी गराए । भेटका क्रममा मन्त्री यादवले वीगरञ्जमा खानेपानी र ढल व्यवस्थापनका लागि एसियाली विकास बैंकको करिब चार सय ५० करोडको योजना छिट्टै सुरु हुने जानकारी गराएको मेयर सिंहले बताए ।