Logo

१७ वैशाख, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् ।

शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा लगिएको सर्वोच्च अदालतका एकजना अधिकृतले बताए ।

जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा रेशम प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि दुई पार्टीबीचको एकता नै भाँडिएको छ ।

रेशम चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी छ ।

‘मुद्दा विचाराधीन भएकै अवस्थामा एक शाखा अधिकृतबाट शंकास्पद हिसाबले पत्र जारी भएको देखियो, त्यसमाथि हामी छानबिन गर्दैछौं,’ सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘यस्तो अवस्थामा त्यो पत्रले वैधता पाउँदैन । उहाँलाई थुनामुक्त गर्ने पत्र जारी हुँदैछ ।’

यसबारेमा अनौपचारिक रुपमा महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रशासन संयन्त्रसँगसमेत कुराकानी भइरहेको सर्वोच्च अदालत स्रोतले बतायो ।

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको नामबाट आज जारी भएको पत्रका आधारमा सादा पोशाकका प्रहरीले प्रज्ञा भवन कमलादी परिसरबाट रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगिएको थियो ।


सम्बन्धित समाचार