
१९ बैशाख, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । यसअघि नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण स्थगित भएको परीक्षा अब सहमति पश्चात निर्धारित मितिमा हुने भएको हो ।
बोर्डले परीक्षा सफल र मर्यादित रूपमा सम्पन्न गराउन आवश्यक सबै तयारी पूरा भएको जनाएको छ। परीक्षा तोकिएका परीक्षा केन्द्रहरूमा हुनेछ । बोर्डले सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सरोकारवाला पक्षहरूलाई आवश्यक सहयोग गर्न आह्वान गरेको छ।
यसै सन्दर्भमा बोर्डले विभिन्न सामाजिक सञ्जालमा आफ्नो लोगो प्रयोग गरी अनधिकृत ढङ्गले फैलाइएको भ्रामक सूचनाप्रति गम्भीर आपत्ति जनाएको छ। यस्ता सूचनामा विश्वास नगर्न बोर्डले अनुरोध गरेको छ । यसको कुनै आधिकारिक फेसबुक पेज नभएको भन्दै सम्पूर्ण सूचना आधिकारिक वेबसाइटमार्फत मात्र सार्वजनिक हुनेछन् जनाएको छ ।
विद्यार्थी, अभिभावक र सरोकारवाला सबै पक्षको सहयोगमा परीक्षा सफलतापूर्वक सम्पन्न गरिने विश्वास बोर्डले व्यक्त गरेको छ ।