Logo

२१ बैशाख, बुटवल । बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत अनेरास्ववियुका एक विद्यार्थी नेता विवेक कुँवर विद्यार्थीको परीक्षा फारमको रकम हिनामिना गरेको आरोपमा प्रहरी अनुसन्धानमा तानिएका छन्।

बुटवल बहुमुखी क्याम्पसमा स्नातक तह चौथो वर्षमा अध्ययनरत कुँवरले १२ जनाभन्दा बढी विद्यार्थीबाट परीक्षा फारम भर्नका लागि रकम लिएको तर उनीहरूको फारम नभरिदिएको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ।

क्याम्पस प्रशासनले वैशाख १९ गते जारी गरेको सूचनामा कुँवरले विभिन्न विद्यार्थीहरूसँग कागजात र रकम लिए पनि फारम नभरेको उल्लेख छ। क्याम्पसले कुँवरलाई निलम्बन गरी क्याम्पस प्रवेशमा रोक लगाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्र बहादुर रानाले कुँवरले विद्यार्थीहरूको प्रथम वर्षको भर्नाका लागि पनि पैसा र कागजात लिएर फिर्ता नगरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए।

बुटवल बहुमुखी क्याम्पस प्रमुख डा। अरुण कुमार क्षेत्रीले स्नातक तह चौथो वर्षका ९(१० जना विद्यार्थीले आफूलाई कुँवरले ठगी गरेको जानकारी गराएपछि घटना बाहिर आएको बताए। उनले अन्य विद्यार्थी पनि ठगिएको हुन सक्ने आशंका व्यक्त गरे।

यद्यपि, आरोपित कुँवरले आफूले धेरै विद्यार्थीको फारम लिएको र भर्ने क्रममा केही छुटेको हुन सक्ने बताएका छन्। उनले समस्या समाधान गर्ने प्रयास गरिरहेको बताएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार