Logo

२३ बैशाख, काठमाडौं । देशभर प्रि-मनसुन प्रणाली सक्रिय भएपछि पूर्वी तराईका विभिन्न जिल्लामा रातिदेखि नै पानी परिरहेको छ।

मोरङ, सप्तरी, सिरहा, उदयपुर, धनुषा, सर्लाही, बारा र सिन्धुलीलगायतका स्थानहरूमा मेघगर्जन, चट्याङ र हल्का हावाहुरीसहित पानी परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो काठमाडौं उपत्यकासहित देशका अन्य धेरै भागहरूमा पनि पानी पर्ने सम्भावना छ। पश्चिमी वायु, स्थानीय वायुप्रणाली र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मौसम बदलीको अवस्था रहेको छ।

“यो प्रि-मनसुनको समय भएकाले अझै केही दिन देशका विभिन्न स्थानहरूमा चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ,” महाशाखाका एक मौसमविद्ले जानकारी दिए।

मौसमविद्हरूले आकस्मिक मौसम परिवर्तनको सम्भावनालाई ध्यानमा राख्दै सतर्क रहन र सुरक्षाका उपाय अपनाउन आम नागरिकलाई अनुरोध गरेका छन्।


सम्बन्धित समाचार