
२४ बैशाख, काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी ‘१०औं राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । दिवसको नारा ‘विश्वसनीय सूचनाको आधार : जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने रहेको छ ।
गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर हरेक वर्ष वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने गरिन्छ ।
सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएको हो । १९५८ साल वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको प्रकाशन शुरू भएको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा आज राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोहको आयोजना गरिएको छ । त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कारसहित सम्मान गर्नुहुने कार्यक्रम छ ।
साथै नेपालको पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने दुुई जनालाई वरिष्ठ पत्रकार सम्मान प्रदान गरिने छ । पुरस्कारको राशि दुई लाख रुपैयाँ र कदरपत्र रहेको छ । यस्तै एक लाख रुपैयाँ र कदरपत्रसहित ६ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।
गोरखापत्र संस्थानले ‘गोरखापत्र’ प्रकाशनको एक सय २५औं वर्ष प्रवेश तथा संस्थानको ६३औं वार्षिकोत्सवको अवसरमा राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा कार्यक्रमको आयोजना गरेको छ ।