
२४ बैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार गरी विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले पर्याप्त सहयोग नगरेको गुनासो गरेका छन्।
राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आफ्नो भनाइ राख्दै प्रमुख आयुक्त राईले सिंगापुर, अमेरिका र युरोपमा भ्रष्टाचारबाट आर्जित सम्पत्ति रहेको र ती देशहरू सम्पत्ति फिर्ता गर्न सहमत भए पनि नेपाल सरकारबाट आवश्यक पहल नभएको बताए। उनले सांसदहरूलाई विदेशमा रहेको त्यस्तो सम्पत्ति फिर्ता ल्याउन सहयोग गर्न आग्रह गरे।
प्रमुख आयुक्त राईले यस विषयमा काम गर्न सरकारले कार्यदल गठन गरे पनि त्यसले अपेक्षित गतिमा काम नगरेको बताए। उनले अख्तियारको अनुसन्धानमा कुनै राजनीतिक दबाब र प्रभाव नरहेको दाबी गर्दै आफ्नो कार्यकालमा कुनै पनि उच्च नेतृत्वबाट मुद्दा चलाउने वा नचलाउने विषयमा दबाब नआएको स्पष्ट पारे।
भ्रष्टाचार र अनियमिततामा संलग्न ठूला समूहहरूमाथि अनुसन्धान भइरहेको जानकारी दिँदै प्रमुख आयुक्त राईले सूचना प्रविधिको क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए। उनले भ्रष्टाचारमा संलग्न कर्मचारीहरूले माथिल्लो तहका व्यक्तिको संलग्नताबारे नखुल्दा अनुसन्धानमा कठिनाइ हुने गरेको पनि उल्लेख गरे।