
२६ बैशाख, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइरहेको छलफल आज (शुक्रबार) सकिने भएको छ ।
प्रतिनिधिसभाको आज बिहान ११ बजे सुरु हुने बैठकमा बाँकी सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नेछन् । संसद सचिवालयका अनुसार, छलफलका लागि छुट्याइएको १८ घण्टामध्ये हाल ३ घण्टामात्रै बाँकी रहेकाले शुक्रबारभित्र छलफल टुंग्याउने तयारी गरिएको हो ।
सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार, प्रतिनिधिसभामा सामान्यतया १५ देखि २० घण्टासम्म छलफल हुने प्रचलन रहेको छ । “यसपालिको छलफल समय पनि औसतअनुसार निर्धारण गरिएको हो,” प्रवक्ता गिरिले जानकारी दिए ।
यसअघि राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथिको छलफल बैशाख २२ र २३ गते दुई दिन सम्पन्न भएको थियो ।
दुवै सदनमा बैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूका प्रश्न र सुझावको जवाफ दिनेछन् । सोही दिन नीति तथा कार्यक्रम पारित गर्ने कार्यतालिका संसदले तय गरिसकेको छ ।
नीति तथा कार्यक्रम पारित भएपछि संसदमा प्रि–बजेट छलफल अघि बढ्नेछ । संविधान अनुसार यही नीति तथा कार्यक्रमको आधारमा सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ ।
शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पनि पढेर सुनाउने कार्यसूची रहेको छ ।