Logo

२७ बैशाख, काठमाडौँ । भारत–पाकिस्तानबीचको पछिल्लो तनावका बीच भारतमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउन भारतस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

शुक्रबार सार्वजनिक गरिएको सूचनामार्फत दूतावासले भारतको आधिकारिक सुरक्षा निकायहरूबाट जारी निर्देशनहरूको पूर्ण रूपमा पालना गर्न र कुनै पनि संकटको अवस्थामा सुरक्षित स्थानको पहिचान गर्न अनुरोध गरेको छ।

दूतावासले भनेको छ, “भारतको जम्मु–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन, संकटकालीन अवस्थामा आपतकालीन सेवा उपलब्ध हुन सक्ने नजिकको स्थान पहिचान गर्न तथा भारत सरकारको आधिकारिक सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न अनुरोध गरिन्छ।”

सुरक्षाका दृष्टिले संवेदनशील बनेको अवस्थालाई ध्यानमा राख्दै दूतावासले आपतकालीन सम्पर्कका लागि हटलाइन नम्बरहरू पनि सार्वजनिक गरेको छ, जसबाट दूतावाससँग समन्वय गरी आवश्यक सहायता लिन सकिनेछ।

दूतावासले भारतका विभिन्न राज्य तथा सहरमा रहेका नेपाली समुदायलाई संयमता अपनाउन र स्थानीय प्रशासनसँग समन्वयमा रहन पनि आग्रह गरेको छ।


सम्बन्धित समाचार