
२७ बैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको छ।
आज जारी गरिएको सूचनामार्फत महानगरपालिकाले सबै सामुदायिक विद्यालयहरूलाई शिक्षा ऐन तथा नियमावली अनुसार सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्दै समयमै विद्यालय व्यवस्थापन समिति गठन गर्न आग्रह गरेको हो।
महानगरका शिक्षा शाखा प्रमुख आनन्द लाठले हस्ताक्षर गरेको उक्त सूचनामा समितिको अभावमा विद्यालय सञ्चालनमा समस्या आउन सक्ने उल्लेख गरिएको छ।
पत्रमा विद्यालय व्यवस्थापन समितिको गठन नहुनुका कारणले विद्यालयको निकासा हुन रोकिएमा वा विद्यालयको कामकार्वाही प्रभावित भएमा सोको जिम्मेवार स्वयम विद्यालयले लिनुपर्ने कडा चेतावनी दिइएको छ।
यस सूचनाले वीरगंज महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा पारदर्शिता, जवाफदेहिता र सशक्त नेतृत्व विकासतर्फ सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।