Logo

२९ बैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक स्थलहरूमा वर्षौंदेखि जथाभावी रूपमा थन्काइएका बेवारिसे सवारी साधन र संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। सार्वजनिक स्थानलाई स्वच्छ, सुरक्षित र प्रयोगमैत्री बनाउने उद्देश्यसहित सुरु गरिएको अभियानले अब निरन्तरता पाउने महानगरले जनाएको छ।

आज विहान वीरगञ्ज २२ जगरनाथपुरमा फुटपाथमा झण्डै दुई वर्षदेखि बेवारिसे अवस्थामा राखिएको एउटा पुरानो रोलर हटाइएको छ। नगर प्रहरी र सरसफाइ शाखाको संयुक्त टोलीले दुईवटा क्रेनको प्रयोग गरी रोलरलाई ट्रकमा लोड गरी महानगरको डम्पिङ साइटमा स्थानान्तरण गरेको नगर प्रहरी इन्चार्ज हरि भुषालले जानकारी दिए ।

त्यसैगरी, बसपार्क क्षेत्रमा लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका एक पुरानो बस र एक ट्रक पनि आज नै हटाइएको छ । केही दिनअघि पनि बसपार्कबाट दुई वटा बेवारिसे बसहरू हटाइएको थियो ।

महानगर प्रमुख राजेशमान सिंहले अभियानप्रति जनचासो बढ्दै गएको उल्लेख गर्दै भने, “हामीले पटक–पटक सार्वजनिक सूचना जारी गरेर यस्ता सवारी तथा संरचना हटाउन आग्रह गरेका थियौं। तर पालना नभएपछि महानगर आफैंले नियन्त्रणमा लिएर हटाउन बाध्य भयौं ।”

उनले वीरगञ्जलाई सफा, सुरक्षित र आधुनिक सहरमा रूपान्तरण गर्न यस्ता बाधक तत्वहरू हटाउनु अपरिहार्य भएको बताए। “यो शहर हामी सबैको साझा घर हो। नागरिकले नियमको पालना गरेमा हामी वीरगञ्जलाई व्यवस्थित महानगर बनाउँछौं,” सिंहले भने ।

महानगरपालिकाले अहिले ‘शून्य सहनशीलता’ नीति अवलम्बन गर्दै सडक, फुटपाथ, चोक, पार्क र अन्य सार्वजनिक स्थलमा हुने लापरवाही तथा अतिक्रमणविरुद्ध कडा कदम चाल्ने तयारी गरेको छ ।

यात्रु, पैदलयात्री, साना व्यवसायी, ट्राफिक प्रहरी, यातायात व्यवसायी र स्थानीय समुदायसँगको सहकार्यमा अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजना महानगरको छ ।

अभियान अन्तर्गत आगामी दिनमा अन्य वडाहरूमा रहेका बेवारिसे तथा अव्यवस्थित संरचनाहरू पनि पहिचान गरी चरणबद्ध रूपमा हटाइने महानगरले जनाएको छ ।

यो अभियानले वीरगञ्जको सडक र सार्वजनिक क्षेत्रलाई खुला, व्यवस्थित र सुरक्षित बनाउँदै शहरको समग्र सौन्दर्य र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार