२९ वैशाख,काठमाडौं । कपाल प्रत्यारोपण गर्ने क्रममा भारतमा एक सरकारी इन्जिनियरको निधन भएको छ। उत्तर प्रदेशको कानपुर निवासी ३७ वर्षीय विनीत कुमार दुवेले कपाल प्रत्यारोपण गर्न खोज्दा ज्यान गुमाएका हुन्।
टाइम्स अफ इन्डियामा प्रकाशित समाचार अनुसार, यो घटना दुई महिनाअघिको भए पनि भर्खरै प्रहरीमा उजुरी दर्ता भएपछि सार्वजनिक भएको हो।
कानपुरको पन्की पावर प्लान्टमा सहायक इन्जिनियरका रूपमा कार्यरत ३७ वर्षीय विनीत कुमार दुवे पत्नी जया त्रिपाठी र दुई छोराछोरीसहित कम्पनीको आवासमा बस्दै आएका थिए।
गत मार्च ११ मा पत्नी जया छोराछोरी लिएर होली मनाउन गोण्डास्थित माइतीघर गएकी थिइन्। घरमा पत्नीलाई आश्चर्यचकित पार्ने उद्देश्यले विनीत मार्च १३ मा कपाल प्रत्यारोपण गर्न कानपुरकै एक क्लिनिकमा गएका थिए। उक्त क्लिनिक एमबीबीएस डाक्टर अनुष्का तिवारीले सञ्चालन गर्दै आएकी थिइन्।
समाचारमा जनाइए अनुसार, अनुष्काले कपाल प्रत्यारोपणका लागि नदुख्ने सुई दिनेबित्तिकै विनीतको अनुहार सुन्निन थाल्यो। अवस्था गम्भीर बन्दै गएपछि उनलाई तत्काल उपचारका लागि अस्पताल भर्ना गरियो। कानपुरकै रिजेन्सी अस्पतालमा उपचारकै क्रममा विनीतको मृत्यु भएको हो।

















