३० बैशाख, काठमाडौं । संघीय संसदको दुवै सदनमा आज आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित छलफल हुँदैछ । प्रतिनिधि सभाको बैठक बिहान र राष्ट्रिय सभाको बैठक दिउँसो बस्ने कार्यक्रम छ ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा सांसदहरूबीच बहस हुने भएको हो । सरकारले जेठ १५ गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार तयारी तीव्र बनाएको छ ।
बजेट प्रस्तुत गर्नुअघि सांसदहरूको सुझाव संकलन गर्ने प्रक्रिया अन्तर्गत संसदमा छलफल थालिएको हो ।
संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) मा सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।

















