
३१ वैशाख, काठमाडौं । काठमाडौंको बागबजारमा एक युवतीको हत्या भएको खुलासा भएको छ ।
युवतीको गत चैत ११ गते नै हत्या भएपनि प्रहरीले हत्या आरोपी एक पुरुषलाई नियन्त्रणमा लिएपछि मात्रै घटना सार्वजनिक गरेको हो । हत्या आरोपमा धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्त पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताएका छन् । उनी पूर्वसैनिक हुन् । मृत महिला नुवाकोट घर भएर काठमाडौँ बस्दै आएकी २८ वर्षीया विमला तामाङ रहेकी छिन् । गेस्ट हाउमा विमलाको हत्या गरेर उनी फरार भएका थिए । मङ्गलवार भारतबाट नेपाल फर्किँदै गरेको अवस्थामा उनलाई नागढुंगाबाट पक्राउ गरिएको एसपी बोहराले जानकारी दिएका छन् ।
उनीहरू विवाहेत्तर सम्बन्धमा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्या भएको ११ दिनपछि सडेगलेको अवस्थामा नुवाकोटको सुर्यगढी नगरपालिका घर भएर काभ्रेस्थली बस्ने विमलाको शव फेला परेको थियो । घटनाबारे प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको छ ।