३ जेठ, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कतैकतै हावाहुरीको सम्भावना रहेको जनाएको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी क्षेत्रहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ भने उच्च हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।
काठमाडौ उपत्यकामा पनि दिउँसोपछि हिजोको जस्तै बदली र हावाहुरीको सम्भावना रहेको मौसमविद्हरूले चेतावनी दिएका छन् । प्रि–मनसुन सक्रिय रहँदा मौसम एक्कासी फेरिन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिइएको छ ।
हिजो बेलुका देशका विभिन्न ठाउँमा आएको हावाहुरीका कारण मानवीय र भौतिक क्षति भएको छ। नवलपरासी, रुपन्देही, कपिलवस्तु, कञ्चनपुर, कैलाली, चितवन, उदयपुर, सङ्खुवासभा, बारालगायतका जिल्ला प्रभावित भएका छन् ।
रुख ढल्दा नवलपरासी (पश्चिम), कपिलवस्तु र कैलालीमा चार जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् । मृतकमध्ये नवलपरासीमा ३० वर्षीया मीरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुन, कपिलवस्तुमा १४ वर्षीया सुखना केवट, र कैलालीमा ५२ वर्षीय कर्णबहादुर भण्डारी रहेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरी चल्दा रुख, बिजुलीका पोल तथा जोखिमयुक्त स्थानमा नबस्न नागरिकलाई आग्रह गरेको छ। स्थानीय प्रशासन र नागरिक समाजलाई सतर्क रहन, आवश्यक पूर्वतयारी गर्न तथा जनसुरक्षामा प्राथमिकता दिन पनि अनुरोध गरिएको छ ।
हावाहुरीले रुख ढल्दा ३ जनाको मृत्यु, तीन घाइते

















