१५ असार, काठमाडौँ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व आज मुलुकभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
कृषिप्रधान देश नेपालमा आजको दिनलाई किसानहरूले वर्षभरिका लागि छाक जुटाउने मुख्य समय र एक वर्षको सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक उत्सवका रूपमा लिने गर्छन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालय र विभिन्न सङ्घसंस्थाहरूको अगुवाइमा खेतमा धान रोपेर, असारे गीत गाउँदै र परम्परागत रूपमा दही-चिउरा खाएर आज यो दिवस मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार २०६२ असार १५ गतेदेखि नेपालमा औपचारिक रूपमा राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।
असारको मध्य गर्मी र कामको चटारोबीच आज खेतका गराहरूमा बेग्लै रौनक देखिन्छ । युवा लाठे र युवती रोपाहारहरूले ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता असारे भाकाका लोकदोहोरी गाउँदै छुपुछुपु धान रोपेर रमाइलो गरिरहेका छन् ।
नेपाली समाजमा असारमा एकपटक अनिवार्य रूपमा हिलोमा पस्नैपर्ने धार्मिक तथा सांस्कृतिक मान्यता समेत रहिआएको छ। कामको बीचमा युवा-युवतीहरू खेतको हिलो छ्यापाछ्याप गर्दै मनोरञ्जन समेत गर्छन्, जसले कार्यथलोको थकानलाई उत्सवमा बदलिदिन्छ ।
असार १५ लाई नेपाली समाजमा ‘दही चिउरा खाने पर्व’ का रूपमा पनि उत्तिकै महत्वका साथ हेरिन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीहरूले समेत आज अनिवार्य रूपमा दही-चिउरा खाएर यो पर्व मनाउने गर्छन् । खेतको हिलो र पानीमा काम गर्दा थकित भएका किसानलाई शक्ति प्रदान गर्न र शरीरमा शीतलता सञ्चय गर्न दही-चिउरा अचुक मानिन्छ ।
हाम्रो संस्कृतिमा दहीलाई सामाजिक र ऐतिहासिक रूपमा उच्च स्थान दिइएको छ। शुभकार्यमा निस्कँदा सगुनका रूपमा दही खुवाउने र निधारमा दही-अक्षताको रातो टीका लगाउने परम्परा छ । ऐतिहासिक कथन अनुसार गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो ।
वैज्ञानिक र आयुर्वेदिक दृष्टिले पनि दहीलाई अमृतसमान मानिएको छ। आयुर्वेदमा भनिएको छ – “भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्” अर्थात् भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा स्वास्थ्यकर्मी वा वैद्यकहाँ गइरहनु पर्दैन। यसले पाचन शक्ति बढाउनुका साथै पखाला लाग्दा औषधिको काम गर्छ।
यस वर्ष असारको मध्य भइसक्दा पनि देशका सबै भूभागमा पर्याप्त मात्रामा मनसुनी वर्षा नभएका कारण लक्षित क्षेत्रफलमा रोपाइँ हुन सकेको छैन। पानीको अभावमा कतिपय क्षेत्रमा किसानहरू आकाशे पानी र पम्पिङ सेटको भरमा रोपाइँ गर्न बाध्य छन्।
यसका साथै, कतिपय जिल्लाका किसानहरूले समयमा रासायनिक मल नपाएको भन्दै मल अभावको गुनासो गरिरहेका छन् । यद्यपि, कृषि, वन तथा पर्यावरण मन्त्रालयले भने यतिबेला देशमा पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेकाले वितरण प्रणालीलाई व्यवस्थित बनाएर किसानको खेतसम्म पुर्याउने कार्य भइरहेको दाबी गरेको छ ।
प्रतिकूल मौसम र केही चुनौतीका बाबजुद पनि नेपाली किसानहरू मुलुकको खाद्य सुरक्षा र आत्मनिर्भरताको जग मानिने धान रोप्ने महाअभियानमा उत्साहका साथ जुटिरहेका छन् ।

















