१५ असार, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आईतबार साँझ एक विशेष मौसम बुलेटिन जारी गर्दै आगामी असार १६ र १७ गते (भोलि र पर्सी) देशका अधिकांश भूभागमा मुसलधारे वर्षा हुने चेतावनी दिएको छ ।
बङ्गालको खाडीमा विकसित भएको नयाँ न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह तीव्र रूपमा बढिरहेकाले मनसुन अब देशका बाँकी पश्चिमी क्षेत्रमा समेत पूर्ण रूपमा फैलिने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि र पर्सी मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ । यसका साथै यी प्रदेशका एक-दुई स्थानमा भने ‘अत्यधिक वा धेरै वर्षा’ को समेत सम्भावना रहेको छ।
देशका पहाडी तथा तराई क्षेत्रका अधिकांश र हिमाली क्षेत्रका केही स्थानहरूमा भने लगातार मध्यम वर्षा जारी रहने मौसमविद्हरूले प्रक्षेपण गरेका छन् ।
असारको मध्यमा हुन लागेको यो मुसलधारे वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्तिको जोखिम उच्च हुने औँल्याइएको छ । पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्र्यान बहाव (लेदोसहितको पहिरो) को खतरा रहनेछ भने काठमाडौँ उपत्यकासहित तराईका शहरी क्षेत्रहरूमा डुबानको समस्या आउन सक्ने चेतावनी दिइएको छ ।
देशका साना-ठूला नदी तथा खोलाहरूमा पानीको सतह अचानक बढेर सतर्कता तह पार गर्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष चनाखो रहन महाशाखाले अनुरोध गरेको छ ।
लगातारको वर्षाका कारण सर्वसाधारणको दैनिक जनजीवन, कृषि कार्य, जनस्वास्थ्य, पर्यटन व्यवसाय, नदी आसपास भइरहेका निर्माण कार्यका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना छ ।
विपद्को पूर्वअनुमान गर्दै महाशाखाले आम नागरिक तथा विपद् व्यवस्थापन सम्बद्ध सरकारी एवं गैरसरकारी निकायहरूलाई तत्काल आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि ‘अलर्ट’ रहन आग्रह गरेको छ ।

















