Logo

४ जेठ, काठमाडौँ । काठमाडौँमा शुक्रबारदेखि सुरु भएको तीन दिने सगरमाथा संवाद आज औपचारिक रुपमा समापन हुँदैछ । जलवायु परिवर्तनका गम्भीर चुनौती र यसको प्रभावलाई विश्व समुदायसमक्ष ल्याउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम नेपालको पहिला पटकको एक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय बहसको रूपमा रहेको छ ।

उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ले विशेष सम्बोधन गरे। सगरमाथा संवादको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ रहेको छ ।

कार्यक्रमका दौरान हिमनदी संरक्षण, तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने आवश्यकता, उच्च भूभागदेखि समुद्री टापुहरूमा जलवायुको प्रभाव, खाद्य सुरक्षा र उत्थानशील कृषि, हिमाली समुदायको नेतृत्वमा जलवायु न्यूनीकरण पहल लगायत विविध १२ विषयमा समानान्तर सत्रहरू सञ्चालन भएका थिए ।

विदेशी अतिथिसहित तीन सय ५० भन्दा बढी विशिष्ट व्यक्तिहरूले सहभागिता जनाएको यस सम्मेलनले आगामी दिनमा जलवायु न्यायका कार्यहरूलाई थप प्रभावकारी बनाउन र वित्तीय चुनौतीहरू समाधान गर्न काठमाडौं घोषणापत्र जारी गर्नेछ ।

नेपालले हरेक दुई वर्षमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरिसकेको छ, जसले देशलाई विश्व जलवायु आन्दोलनमा महत्वपूर्ण कडी बनाउने अपेक्षा गरिएको छ ।

यो संवादले जलवायु परिवर्तनको प्रभाव र समाधानमा बहुपक्षीय सहकार्यको महत्वलाई पुनः पुष्टि गर्दै विश्व समुदायमा नेपाल र हिमाल क्षेत्रको आवाजलाई थप बलियो बनाएको छ ।


सम्बन्धित समाचार