
५ जेठ, काठमाडौं । भ्रष्टाचार आरोप लागेका कांग्रेस नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा धमाधम योजनाहरुको उद्घाटन गरिरहेका छन् ।
सांसद पद समेत गुमाइसकेका बस्नेतले प्रमुख अतिथि बनेर गृहजिल्ला सिन्धुपाल्चोकमा धमाधम योजनाहरुको उद्घाटन गर्न थालेका हुन् । टेरामक्स प्रकरणमा ३ अर्ब २१ करोड भन्दा बढी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएपछि उनी स्वतः सांसद पदबाट समेत निलम्बनमा परेका थिए । तर, पनि उनी गृहजिल्ला सिन्धुपाल्चोकमा प्रमुख अतिथी बनेर कार्यक्रमहरुमा जवरजस्त सहभागी भैरहेका छन् ।
पूर्वमन्त्री समेत रहेका उनलाई भ्रष्टाचार मुद्दा दायर भएपछि सिन्धुपाल्चोकमा स्थानीय सरकार र माओवादी–एमाले लगायतका राजनीतिक दलहरुले कार्यक्रममा सहभागी नगराउन आग्रह गर्दै आएका छन् । यही क्रममा आज पनि उनी तामझामका साथ लिसंखुपाखर गाउँपालिकामा खानेपानी योजना उद्घाटनका लागि पुगेका थिए । उनले आज नारगाउँ खानेपानीको उद्घाटन गरेका हुन् ।
पालिकाको निषेधको अवज्ञा
सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना र लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले छुट्टा–छुट्टै विज्ञप्ति जारी गर्दै भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई प्रमुख अतिथि बनाएर कार्यक्रम नगर्न र सहभागी नगराउन आग्रह गरेका थिए ।
तर, कांग्रेस नेता बस्नेतले स्थानीय सरकारको निर्देशन र राजनीतिक दलको आग्रहलाई वेवास्त गर्दै तामझामका साथ खानेपानी योजनाको उद्घाटन गरेका छन् । सुनकोशीका अध्यक्ष तिम्सिना एमालेबाट निर्वाचित भएका हुन् भने लिसंखु पाखारका अध्यक्ष लामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।
बस्नेतलाई प्रमुख अतिथि बनाएर सुनकोशी गाउँपालिका–२ ठोकर्पामा स्वास्थ्यचौकी भवन उद्घाटन र लिसंखुपाखर–२, निगालेमा निगाले नारगाउँ खानेपानी योजनाको उद्घाटन कार्यक्रम राखिएपछि गाउँपालिकाहरूले सहभागी नगराउन निर्देशन दिएका थिए । तर, उनलाई कांग्रेस कार्यकर्ताले ‘मोहन बस्नेत–जिन्दावाद’ भन्दै विजयोत्सव मनाएजसरी स्कटिङ गरेर ल्याएका थिए । टेरामक्स प्रविधि खरिदमा अनियमितता गरेको आरोपमा बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।