
१३ जेठ,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ निवासी ५५ वर्षीय जोगिन्द्र राउत कुर्मीको रु. १ लाख ४० हजार दिनदहाडै वीरगञ्जको घण्टाघरबाट लुटिएको छ। आफ्नो जग्गा धितोमा राखेर लिएको उक्त रकम बैंकमा जम्मा गर्न घण्टाघर पुगेका कुर्मीको रकम लुटेर एक युवक फरार भएका छन्।
कुर्मीका अनुसार, उनले वीरगञ्जको छपकैयास्थित मालपोत कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी रकम लिएर ई–रिक्सामा घण्टाघर आएका थिए। रिक्साबाट ओर्लने क्रममा एक युवकले उनले बोकेको झोलाबाट रकम लुटेर भागेको उनले बताए।
यो घटना घण्टाघरको मुख्य चोकमा भएको हो, जुन दैनिक सयौं बटुवाको आवतजावत हुने र नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको उपस्थिति रहने व्यस्त तथा सुरक्षित मानिने स्थान हो। यस्तो ठाउँमा दिनदहाडै भएको लुटपाटको घटनाले स्थानीय प्रशासनको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। “हामी अहिले रकम लुटिएको छ कि छैन भनेर सिसिटिभी क्यामेरामा हेर्दै छौं। त्यहाँबाट अनुसन्धान प्रक्रिया अगाडि बढाउने छौं,“ लम्सालले भने।
यस घटनाले वीरगञ्जको व्यस्त क्षेत्रमा समेत सर्वसाधारणको सुरक्षामाथि चुनौती देखिएको छ।