Logo

१४ जेठ, जनकपुरधाम । गणतन्त्र दिवस २०८२ को पूर्वसन्ध्यामा मधेश प्रदेश सरकारले विविध रचनात्मक कार्यक्रमहरू आयोजना गरेको छ। यसै क्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालयले मंगलबार मन्त्रालय परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

गणतन्त्र दिवसको सन्देशलाई जनस्तरमा सशक्त रूपमा पुर्‍याउने उद्देश्यले आयोजित यस सरसफाइ कार्यक्रमको नेतृत्व स्वयं मधेशका गृहमन्त्री राजकुमार लेखीले गरेका थिए । कार्यक्रममा मन्त्रालयका कर्मचारीहरू, नीति आयोगकी सदस्य डा। शिला मिश्रा, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा साथै प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको सक्रिय सहभागिता रहेको थियो। यस पहलले गणतन्त्र दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नगरी जनस्तरसम्म जोड्ने रचनात्मक प्रयासको संकेत दिएको छ ।

प्रेस स्वतन्त्रता सेनानीको अभिनन्दन
गृह मन्त्रालयले जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर मधेश प्रदेशभरिका प्रेस स्वतन्त्रता सेनानीहरूको औपचारिक रूपमा अभिनन्दन गर्ने कार्यक्रम समेत आयोजना गर्ने भएको छ । पत्रकारितामार्फत निरङ्कुश शासनविरुद्ध आवाज उठाउने तथा लोकतन्त्रको जग मजबुत बनाउन योगदान दिने सञ्चारकर्मीहरूको सम्मानमा समर्पित यो कार्यक्रम ऐतिहासिक रूपमा महत्त्वपूर्ण हुने बताइएको छ ।

मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री राजकुमार लेखीले सञ्चारकर्मीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै राज्यले उनीहरूको योगदानलाई औपचारिक रूपमा सम्मान गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे। उनले भने, ‘निरङ्कुश राज्य प्रणालीबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको छ। त्यसैले हामीले गणतन्त्र दिवसको अवसर पारेर प्रदेशभरिका प्रेस स्वतन्त्रता सेनानीहरूको सम्मान गर्ने निर्णय गरेका हौँ।’

गणतन्त्रको मूल्य र पत्रकारिताको भूमिका
सरसफाइ कार्यक्रममा सहभागीहरूले गणतन्त्र दिवसले सबै नागरिकमा समानता, स्वतन्त्रता र उत्तरदायित्वको भावना जागृत गराउने विश्वास व्यक्त गरे। गृहमन्त्री लेखीले गणतन्त्रको मूल्य र पत्रकारिताको भूमिकालाई जोडेर जनतामाझ सशक्त सन्देश प्रवाह गर्ने योजना अनुसार मन्त्रालयले विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए । यसरी मधेश प्रदेश सरकारले गणतन्त्र दिवसलाई केवल उत्सवका रूपमा मात्र नभई यसका अन्तर्निहित मूल्यमान्यतालाई जनस्तरमा पुर्‍याउने माध्यमका रूपमा प्रयोग गरेको छ ।


सम्बन्धित समाचार