Logo

१७ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठकले आफ्नो आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ। शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले आगामी कार्यक्रमहरूलाई अझ सशक्त बनाउनेबारे छलफल गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

लिङ्देनका अनुसार, जेठ १५ र १६ गते भएका कार्यक्रमहरूको समीक्षा गरिएको छ र शनिबार (आज) पनि शान्तिबाटीकामा जम्मा भएर आन्दोलनलाई निरन्तरता दिने निर्णय भएको छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राप्रपा लगायतका दलहरूको प्रदर्शन हुने भन्दै निषेधित क्षेत्र घोषणा गर्नुले सरकार डराएको स्पष्ट देखिएको बताए। उनले निषेधित क्षेत्र तोकेर सरकारले आफू कमजोर भएको प्रमाणित गरेको समेत दाबी गरे।

“हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल शक्तिहरू त्यहाँ प्रदर्शन हुन्छ भन्ने विषयलाई लिएर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डराएको र सरकार कमजोर भयो भन्ने कुराको प्रमाण हो,“ उनले भने, “हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ। निषेधित क्षेत्र तोक्यो भनेर दुःखी हुनुभन्दा पनि हामीलाई यसले उत्साहित तुल्याएको छ।“


सम्बन्धित समाचार