
१८ जेठ, काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना (कोभिड-१९) संक्रमण पुनः तीव्र रूपमा फैलिन थालेको छ। पछिल्लो केही दिनयता संक्रमितको संख्या उल्लेख्य रूपमा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५७८ जना सक्रिय संक्रमितको उपचार भइरहेको जनाइएको छ। त्यही अवधिमा १ हजार ८१८ जना संक्रमित कोरोनामुक्त भएका छन्।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १२ जेठमा देशभर १५ राज्यमा मात्र १ हजार ९ जना सक्रिय संक्रमित थिए। तर, पछिल्लो तथ्यांकले देखाएअनुसार सक्रिय संक्रमितको संख्या तीन गुणा बढी भइसकेको छ भने संक्रमित राज्यहरूको संख्या पनि २६ पुगेको छ।
पछिल्लो तथ्यांकअनुसार केरल राज्यमा ६४ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै केरलमा कुल सक्रिय संक्रमितको संख्या १ हजार ४ सय पुगेको छ।
अन्य राज्यहरूमध्ये महाराष्ट्रमा ४८५, दिल्लीमा ४३६, गुजरातमा ३२०, पश्चिम बंगालमा २८७, कर्नाटकमा २३८, तमिलनाडुमा १९९ र उत्तर प्रदेशमा १४९ जनाको उपचार भइरहेको छ।
अधिकांश संक्रमितहरू होम आइसोलेसनमै रहेका र उनीहरूलाई अस्पताल भर्ना गर्नु नपरेको जानकारी दिइएको छ।
२ दिनमा २१ जनाको मृत्यु
भारतको स्वास्थ्य विभागका अनुसार जनवरीदेखि अहिलेसम्म कोरोनाका कारण २८ जनाको मृत्यु भइसकेको छ। तीमध्ये २१ जनाको मृत्यु पछिल्ला २ दिनमा भएको हो।
यसैबीच कर्नाटक सरकारले सूचना जारी गरी भीडभाड भएका ठाउँमा मास्क लगाउन, शारीरिक दूरी कायम राख्न र सरसफाइमा विशेष ध्यान दिन मानिसहरूलाई आग्रह गरेको छ। ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्तै परीक्षण गर्न भनिएको छ।
छिमेकी मुलुक र खुला सीमा भएका कारण भारतमा कोरोना संक्रमण बढ्दै जाँदा स्वाभाविक रूपमा नेपालमा पनि जोखिम बढेको छ।
शनिबार मात्र कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको पनि पुष्टि भएको छ। केरलमा ६३ वर्षीय एक पुरुष र कर्नाटकमा २४ वर्षीया एक युवतीको मृत्यु भएको हो। दुवै जनामा कोरोना बाहेक अन्य दीर्घरोग पनि रहेको जनाइएको छ।
स्वास्थ्य मन्त्रालयले संक्रमण दरको पुनः वृद्धि भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। यद्यपि अहिलेको लहर अघिल्लो लहरहरूभन्दा कम घातक देखिएको विज्ञहरूको प्रारम्भिक अनुमान छ।