
१८ जेठ, काठमाडौं । राजसंस्थाको पुनःस्थापनाको मागसहित प्रदर्शन गर्दै आएको राजावादी समूहले भोली (सोमबार) उपत्यका बन्दको घोषणा गरेको छ। ‘
संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा जेठ १९ गते काठमाडौं उपत्यकामा सम्पूर्ण सवारीसाधन तथा व्यवसाय बन्द गराउन आह्वान गरिएको छ।
राजसंस्थाका समर्थकहरूले पछिल्ला दिनमा उपत्यकाका विभिन्न ठाउँमा जुलुस निकाली नाराबाजी गर्दै आएका छन्। उनीहरूले वर्तमान व्यवस्थाले जनताको समस्या समाधान गर्न नसकेको र राष्ट्रिय एकताको प्रतीकका रूपमा राजसंस्था पुनःस्थापना अपरिहार्य भएको तर्क गर्दै आएका छन्।
विज्ञप्तिमा भनिएको छ, “हाम्रो आवाज दबाउने सरकारी प्रयासका बाबजुद हामी लोकतान्त्रिक शैलीमा राजसंस्थाको पक्षमा संघर्ष गरिरहेका छौं।” बन्दको सफलताका लागि सर्वसाधारण, व्यवसायी, र यातायात क्षेत्रका श्रमिकलाई सहयोग गर्न आग्रह गरिएको छ।
यसअघि आइतबार भएको प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायत समितिका केही अगुवा कार्यकर्ता पक्राउ परेपछि राजावादी पक्ष झनै आक्रोशित बनेको हो।