
१९ जेठ, काठमाडौं । यातायात व्यवसायीहरूले घोषणा गरेको अनिश्चितकालीन बन्दका कारण आज (सोमबार) काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात ठप्प भएको छ। यसले गर्दा यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ।
सार्वजनिक सवारीसाधनको अभावलाई मध्यनजर गर्दै नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ। यात्रुहरूलाई सहयोग गर्ने उद्देश्यले दुई वटा रुटमा प्रहरीले बस सञ्चालन गरेको हो।
प्रहरी प्रधान कार्यालय नक्सालबाट ती बसहरू काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न गन्तव्यका लागि छुट्नेछन्। प्रहरीका अनुसार, एउटा रुटमा नक्सालबाट बालुवाटार, महाराजगञ्ज, नयाँ बसपार्क, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हलसम्म बस चल्नेछ।
त्यसैगरी, अर्को रुटमा नक्सालबाट रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, महाराजगञ्ज, बालुवाटार हुँदै नक्सालसम्म प्रहरीको बस चल्नेछ।
यसैबीच, बन्दको फाइदा उठाउँदै विभिन्न राइड सेयरिङ कम्पनीका राइडरहरूले यात्रुबाट बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासो आएको भन्दै प्रहरीले त्यस्तो नगर्न आग्रह गरेको छ। बढी भाडा लिने वा अफलाइन बार्गेनिङ गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा प्रहरी हटलाइन १०३ मा फोन गरेर जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ।