
१९ जेठ, वीरगञ्ज । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएसँगै नेपालमा पनि त्यसको जोखिम बढेको भन्दै वीरगञ्जमा स्वास्थ्य सतर्कता बढाइएको छ। वीरगञ्ज महानगरपालिकाले भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका रक्सौल–वीरगञ्जमा यात्रुहरूमाथि स्वास्थ्य जाँचमा कडाइ सुरु गरेको छ।
कोरोना संक्रमण नियन्त्रणका लागि प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि वीरगञ्ज–रक्सौल नाकामा स्थापना गरिएको हेल्थ डेस्कको आज महानगर प्रमुख राजेशमान सिंहले आफैँले निरीक्षण गरेका छन्। छिमेकी देशमा संक्रमितको संख्या हरेक दिन बढिरहेको अवस्थामा नेपालभित्र संक्रमण फैलिन नदिन विशेष सतर्कता अपनाउनु परेको महानगर प्रमुख सिंहले बताए।
उनले वीरगञ्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई अझ प्रभावकारी बनाउने गरी तयारी अघि बढाइएको जानकारी दिए। हेल्थ डेस्कमा मास्क, स्यानिटाइजर, तापक्रम मापन गर्ने उपकरणलगायत सामग्रीको कुनै कमी हुन नदिने गरी व्यवस्था मिलाइएको छ। प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले हेल्थ डेस्कको निरन्तर अनुगमन भइरहेको जानकारी दिए।
स्वास्थ्यकर्मी इब्राना खातुनका अनुसार, हाल रक्सौलबाट आउने प्रत्येक व्यक्तिको तापक्रम स्क्रिनिङ अनिवार्य गरिएको छ। हेल्थ डेस्कको सरसफाइ र आवश्यक मर्मतसम्भारसमेत सुरु गरिएको छ। भारतमा पुनः सक्रिय भइरहेको कोभिड संक्रमणका कारण नेपाल प्रवेशद्वारमा सतर्कता बढाउनुको विकल्प नरहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए। अहिले नै सचेत भई आवश्यक तयारी नगरे संक्रमण फेरि बढ्ने भएकाले आफूहरू तयारी अवस्थामा बसेको उनको भनाइ छ।
हेल्थ डेस्कमा अहिले ७ जना जनशक्ति खटेर स्क्रिनिङको काम गरिरहेको नाकामा खटिएका स्वास्थ्यकर्मीहरूले बताएका छन्।